ढिलो आउने वर्षा, हलमा कुर्ने संजोग

बिहिबार आयोजना भएको फिल्म ‘एैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत रिलिज कार्यक्रममा नायिका स्वस्तिमा खड्का सुरुवातमै पुगेकी थिइन् । तर, नायिका वर्षा राउत भने कार्यक्रम सकिने समयसम्म पनि देखिइनन् । 

बरु, वर्षा राउत नआएपछि उनको प्रतिनिधित्व गर्दै कलाकार संजोग कोइराला हलमा पुगेका थिए । सुरुवातमै हलमा पुगेका उनले गीतको भिडियो समेत हेरे । कार्यक्रम संचालकले सुरुवातमा वर्षा राउत बाटोमा आउँदै गरेको बताइरहेका थिए । तर, पछि वर्षा राउत आउन नभ्याउने बताएका थिए । 

गतबर्ष कार्तिकमा रिलिज भएको २ फिल्म ‘के घर के डेरा र लाखे’पछि वर्षा मिडियाबाट टाढा जस्तै छिन् । वर्षाको चुलबुलेपना अहिले हराएको छ । वर्षा गम्भिर बनेकी छिन् । मिडियामा उनी निकै कम देखिने गर्छिन् । कुनै समय उनलाई दैनिकजसो युट्युब भिडियोमा हेर्न पाइन्थ्यो । 

तर, कार्यक्रम सकिने बेलामा वर्षा आएको जानकारी कार्यक्रम संचालकले दिए । यसपछि, वर्षालाई लिन पार्किङसम्म संजोग नै पुगे । 

कार्यक्रममा ढिलो आएको भन्दै वर्षाले आफ्नै गीत हेर्न नपाएको तर्क गरिन् । जे भएपनि वर्षा कार्यक्रममा आइन्, त्यही नै ठूलो कुरा हो । 

वर्षा राउतका लागि यो फिल्म महत्वपूर्ण छ । किनकी, कुनै समय नेपाली फिल्मका दर्शकको रोजाइमा रहेकी वर्षा अहिले सुस्ताएकी छिन् । उनको चुलबुलेपनालाई फर्काउन यो फिल्म संजिवनी बुटी बन्न सक्छ ।