मिडिया फेस गर्न आँचललाई डर


नेक्स्ट मोडल्स नेपालले शनिबार आयोजना गर्न लागेको ‘मिस्टर नेपाल २०२३’को फाइनल कार्यक्रमको बिषयमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । यो शोमा निर्णायकको रुपमा आँचल शर्मा, प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, डाक्टर आयुष्मान घिमिरे, शैलजा अधिकारी र विश्व करण जैन लगायत छन् । 

यो पत्रकार सम्मेलनमा विशेषगरि, आयोजकले नायिका आँचल शर्मा र पूर्व मिस नेपाल माल्भिका सुब्बालाई निमन्त्रणा गरेको थियो । आँचल आफैले यो कार्यक्रम राख्नका लागि आयोजकलाई सल्लाहा समेत दिएकी थिइन् । 

बुधबार बिहान ९ बजेका लागि बोलाइएको कार्यक्रम ११ बजे मात्र सुरु भयो । नायिका आँचल शर्माले आफू बाटोमा आउँदै गरेको जानकारी आयोजकलाई गराएकी थिइन् । तर, उनी कार्यक्रममा उपस्थित भइनन् । 

यो बिषयमा आयोजकले आँचलकै आग्रहमा पत्रकार सम्मेलन राखिएको बताएको थियो । अन्तिम समयमा आँचलले आफू बिरामी परेकाले फाइनलको दिनमा नै  मिडियासँगै भेट गर्ने सूचना पठाएकी थिइन् । 

आफू आउँदै गरेको जानकारी दिएर अन्तिम समयसम्म मिडियालाई आँचलले कुराउनुको कारण के होला ? आँचल केही साता अगाडि सौन्दर्य प्रतियोगीताकै अडिसनमा विवादमा परेकी थिइन् । त्यसपछि, उनले मिडिया फेस गर्न सकेकी छैनन् । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा पनि उनले मिडियासँग फेस गर्न नसकेको प्रष्ट हुन्छ । शनिबार आयोजना हुने फाइनलमा निर्णायकमा बस्ने भएकाले पनि आँचलले मिडियाको जवाफ दिनुपर्ने छैन । यसैले, आँउछु आउँछु भनेर अन्तिम समयमा बिरामी भएको खबर पठाएकी आँचलले मिडिया फेस कहिले गर्लिन् ? प्रतिक्षा सबैलाई छ ।