‘ह्यासट्याग माया’ टिमलाई तान्त्रिकले भनेका थिए–‘चाडो सुटिङ सक्नु, अर्को पूजा गर्नुपर्छ’
असारको ५ गते ‘मेरो फिल्म’ले ‘नम्रताले विवाद निकाल्दा ह्यासट्याग मायाको छायांकन लम्बियो’ शीर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा नायिका नम्रता श्रेष्ठले विभिन्न लफडाबाजी झिक्दा फिल्मको छायांकन लम्बिएको उल्लेख थियो । फिल्मका नायक सारुक ताम्राकारको निधनपछि सार्वजनिक भएका विभिन्न खबरले पनि फिल्मको छायांकनमा ठूलै लफडा परेको र यही कारणले फिल्मको सुटिङ ४० प्रतिशत मात्र सकिएको पुष्टि भइसकेको छ ।
शनिबार मात्र ‘मेरो फिल्म’ले अर्को समाचार सार्वजनिक गर्यो । ‘सारुक प्रकरणबारे नयाँ तथ्यः मसानघाटमा बोका काटेर बुटी बाँधिएको थियो’ शिर्षकमा सार्वजनिक समाचारमा नायिका नम्रता श्रेष्ठले दोलालघाटको मसानघाटमा फिल्मका नायक र निर्देशकलाई लगेको उल्लेख छ । जसमा, नायक सारुक ताम्राकार, नायिका नम्रता श्रेष्ठ, निर्देशक राजिभ गुरुङ, नम्रताको योगा गुरु पारु, नम्रताकी दिदी र तान्त्रिक इश्वर अधिकारी थिए ।
उनीहरुले धुलिखेलबाट सँगै लगेका ड्राइभरलाई फर्काएका थिए । निर्देशक गुरुङलाई दोलालघाटस्थितकै एक होटलमा बस्नु भनिएको थियो । ‘तपाईं पहिलोपटक मसानघाट जानुहुँदैछ । तपाईंलाई डर लाग्नसक्छ । तपाईं होटलमै बस्नुहोस् । हामी पुजा सकेर आउँछौं’ तान्त्रिकले भनेका थिए । मसानघाटमा मध्यरातमा पुजा गरेर उनीहरु साढे १२ बजे होटल फर्किएका थिए । मसानघाटमा रक्सी र २० केजीको कालो बोकाको पुजा गरेर होटलमा आई सोही होटलमा बोका पकाउन लगाएर खाएका थिए ।
श्रोतका अनुसार, उक्त पूजा गरिदिएवापत तान्त्रिकलाई उनीहरुले जनही ५–५ लाख दिएका थिए । सो समयमा तान्त्रिकले काठमाडौंको सुकेधारामा घर पनि बनाउँदै गरेको वुझिएको छ । नम्रताले बर्दियाको छायांकन सुरु हुनु अगाडि पनि तान्त्रिकका लागि आवश्यक परेको भन्दै २५ लाख रुपैयाँ फिल्मको टिमसँग मागेकी थिइन् । पछि उनले बर्दियामा उक्त पैसा फिर्ता गरेको मेरो फिल्मलाई स्रोतले बतायो ।
मेरो फिल्म श्रोतका अनुसार नायक सारुक ताम्राकार शाकाहारी थिए । तर, मसानघाटमा बोका काटेर पूजा गरेको दिनबाटै उनी मांसहारी भएका थिए ।
मेरो फिल्म श्रोतका अनुसार–‘पहिलो पटक भएकाले निर्देशक राजिभ गुरुङलाई मसानघाट नजान तान्त्रिकले आग्रह गरेका थिए । त्यसपछि निर्देशक ज्यू होटलमा नै बस्नुभयो । अरू भने मसानघाट पुगेर बोका र रक्सी पूजा गरेर फर्किए । उनीहरुले होटलमा नै रातको ३ बजेसम्म मासु र रक्सी खाएका थिए । तान्त्रिकले निर्देशक गुरुङलाई बुटी लगाइदिए । बुटीले रक्षा गर्ने भएकाले निर्देशकलाई नडराउन तान्त्रिकले आग्रह गरेका थिए ।’
निर्देशक गुरुङलाई भुतहरू नजिकै देखिन सक्ने भएतापनि बुटीले रक्षा गर्ने भएकाले नडराउन आग्रह गरिएको थियो ।
पूजा गरेको कुरा कसैलाई पनि नबताउन नम्रताले निर्देशकलाई आग्रह गरेकी थिइन् । यो विषयको रहस्यद्घाटन नायक सारुक ताम्राकारको निधन भएपछि निर्देशक आफैले खुलाएका छन् ।
उनै, तान्त्रिक अधिकारीले फिल्मको छायांकन चाडो भन्दा चाडो सक्नका लागि निर्माण टिमसँग आग्रह गरेको पनि खुल्नमा आएको छ । उनले भनेका थिए–‘फिल्मको काम चाँडै सक्नुहोस् । दोश्रो चरणको पूजा गर्न अझै बाँकी छ ।’
योसँगै उनले फिल्मको टिमलाई फिल्म बनेर पुरा भयो भने बम्पर पैसा कमाउने तर पुरा हुने संभावना कम भएको समेत बताएका थिए । तान्त्रिकले भने जस्तै नायक ताम्राकारको निधनसँगै फिल्म पुरा हुने संभावना न्यून देखिएको छ ।
नायिका नम्रता श्रेष्ठ पछिल्लो समयमा तान्त्रिक विद्यामा बढी रुचीकर भएको खुलिसकेको छ । नम्रताले बुढानिलकण्ठमा बस्दै आएको घरमा समेत कालो धाँगोले पूजा गर्ने गरेको वुझिएको छ ।
यो घटनामा तन्त्रमन्त्र र तान्त्रिक समेत जोडिएपछि सामाजिक संजालमा घटनालाई अन्तै मोड्नका लागि तान्त्रिक जोडिएको भन्दै आवाज उठाइरहेका छन् । तर, फिल्म निर्माणको प्रक्रियादेखि नै तान्त्रिक विद्या एकसाथ जोडिँदै आएको लुकेको छैन । यसैले, तान्त्रिक विद्या जोडिँदा घटना अन्तै मोडिने नभइ साना–साना बिषयहरु पनि यही घटनासँग जोडिने पक्का छ ।
नायक सारुक ताम्राकारको निधनको कारण खुल्न अझै बाँकी छ । अहिले नै यो बिषयमा कसैलाई आरोप लगाउनु तर्क संगत हुँदैन । तर, सारुक आत्महत्या प्रकरणको बिषयमा छानबिन गर्न दैनिकजसो आवाजहरु उठिरहेका छन् । प्रहरीले पनि सारुकको मोबाइलको जाँच गर्न फरेन्सिकमा पठाइसकेको छ । यसैले, सारुक आत्महत्या प्रकरणको वास्तविकता बिस्तारै खुल्ने अपेक्षा गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
सारुक आत्महत्या प्रकरणः सबैको ध्यान मोबाइलतिर
सारुक आत्महत्या प्रकरणः सामाजिक संजाल गर्मिदै, मलिनाले गरिन् छानबिनको माग
बाबु आमालाई पार्टीमा आउँछु भनेका सारुकले अचानक किन रोजे आत्महत्याको बाटो ?
नायक सारुक ताम्राकारले गरे आत्महत्या
प्रतिक्रिया