नम्रताले विवाद निकाल्दा ‘ह्यासट्याग माया’को छायांकन लम्बियो


फिल्म ‘ह्यासट्याग माया’को युनिट बर्दियाको छायांकन पुरा गरेर काठमाडौं फर्किसकेको छ । यो फिल्मको मुख्य नायिकामा नायिका नम्रता श्रेष्ठले काम गरिरहेकी छिन् । ४५ दिनमा छायांकन सम्पन्न गर्ने भनिएको फिल्मले हालसम्म छायांकन पुरा हुन सकेको छैन । 

मेरो फिल्मले प्राप्त गरेको जानकारी अनुसार नम्रताले फिल्मको निर्माण पक्षसँग फिल्मको प्राविधिकतर्फका केही सदस्यलाई हटाउन माग गरेपछि सुटिङ लम्बिएको हो । हुन त नम्रताले यो फिल्ममा मात्र यसरी झन्झट खडा गरेकी होइनन् । उनले यसअघिका केही फिल्ममा पनि निर्माणपक्षसँग असन्तुष्टि जनाउँदै आएकी छिन् । 

यस फिल्मको छायांकनमा क्रममा पनि नम्रताले आर्ट विधामा र कष्ट्यूम विधामा काम गर्ने प्राविधिकहरूलाई हटाउन बारम्बार फिल्मको निर्माणपक्षलाई भन्दै आएको बुझिएको छ ।
जसका कारण, फिल्मको छायांकन सेड्यूल लम्बिएको हो । यो फिल्मको बर्दिया सेड्युल सकिएसँगै काठमाडौंमा छायांकन भइरहेको छ । त्यसपछि यसको अन्तिम सेड्युल धरानमा राखिएको छ । यो फिल्मको सुरुवातमा नाम ‘ग्रहण’ राखिएको थियो । तर, फिल्मको छायांकन निर्धारित समयमा सुरु हुन नसक्दा यसमा अनुबन्धित भएका कलाकार विनय श्रेष्ठले हात झिकेका थिए । यसपछि, फिल्ममा नायक सारुक ताम्रकारको प्रवेश भएको थियो । 

नम्रताको फिल्मको सेटमा केही न केही कुरा निकालेर विवाद खडा गर्ने बानीले निर्मातालाई भने समस्यामा पार्ने गरेको छ । एउटा फिल्म निर्माण गर्न निर्माताले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । त्यसमाथि, कलाकारको बखेडाले निर्मातालाई सधैं नै असर पार्ने गरेको छ । नम्रता जस्तो चर्चित कलाकारले यस्तो कुरा बुझ्नु पर्ने हो नी, होइन र ?