विनोद न्यौपानेः एक अभागी नायक


रिलिजको ३ दिन अगाडि नै फिल्म ‘वेलकम टू हेम्जाकोट’को प्रिमियर गरिएको छ । मंगलबार बेलुकी यो फिल्मको प्रिमियर एफक्युब हलमा गरिएको हो । 

फिल्म हेर्नका लागि नायक सलोन बस्नेत, निर्देशक शोभित बस्नेत लगायत हलमा पुगेका थिए । कमेडी जनरामा बनेको यो फिल्मको मुख्य भूमिकामा कलाकार विनोद न्यौपाने छन् । विनोदले फिल्म क्षेत्रमा संघर्ष गर्न थालेको लामै समय भैसकेको छ । तर, विनोद अपेक्षित सफल हुन सकेका छैनन् । 

यो फिल्म हेरेर फर्किएका अधिकांशले विनोदको कामको प्रशंसा गरे । कमेडी जनरामा विनोदले आफूलाई गज्जबले उतारेका छन् । उसो त उनले ‘कोहलपुर एक्सप्रेस, सुश्री सम्पत्ती’ लगायतका फिल्ममा पनि काम गरेका थिए । तर, यी फिल्मबाट पनि उनी चम्कन सकेनन् । 

अभिनय उत्कृष्ट गरेपनि उनी फिल्म क्षेत्रमा क्लिक हुन सकेका छैनन् । यसैले, पनि उनी फिल्म क्षेत्रका एक राम्रा तर अभागी नायक हुन् भन्दा फरक नपर्ला । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म भित्र विभिन्न पात्रहरु छन् । ती पात्रहरुको आ आफ्नै कथा छ ।

निर्देशकले फिल्म भित्र एउटै कुरालाई बारम्बार दोहोर्याउँदा धेरै ठाउँमा फिल्म पट्यारलाग्दो बनाएका छन् । फिल्म हेरेर निस्कदा दर्शकले केही पनि कुरा पाउँदैनन् । तर, हेरिरहँदा रमाइलो भने पाउन सक्छन् । 

फिल्म भित्र बुद्दि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, जयनन्द लामा, विशाल पहारी, रवि गिरी लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मले व्यापार कस्तो गर्छ, त्यो शुक्रबारबाट थाहा हुनेछ । तर, विनोदलाई नेपाली फिल्म क्षेत्रका नाम चलेका मेकरले अहिलेसम्म पत्याएका छैनन् । तर, उनको अभिनयले ठूला मेकरसँग काम गर्ने तागत भने राख्छ ।