रविन्द्रको कमजोर नेतृत्व, रेजिना वा मोहनलाई चुनौती नै चुनौती
कलाकारहरूको कहिले पनि आफ्नो हुन नसकेको नेपाल चलचित्र कलाकार संघ फेरि नयाँ नेतृत्वको खोजीमा छ । शनिबार हुने निर्वाचनमा रेजिना उप्रेती वा मोहन निरौलामध्ये एक जनाले कलाकार संघको नेतृत्व लिनेछन् ।
दुवै जनाले आ आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । बिहिबार आयोजना भएको मोहन निरौला नेतृत्वको प्यानल घोषणा कार्यक्रममा पदीय मर्यादा नै बिर्सिएर रवीन्द्र खड्का सहभागी भए । उनले, मोहन निरौलाका लागि भोट समेत मागे ।
अध्यक्ष पदमा रहेको व्यक्तिले निर्वाचनमा होमिएको व्यक्तिका लागि खुलेयाम भोट माग्नु पदीय मर्यादा विपरीत हो । तर, ३ बर्षे कार्यकालमा कैयौं पटक आफ्नो पदीय मर्यादा बिर्सिएर सामाजिक संजालमा केन्द्रित रहेका अध्यक्ष खड्काबाट यो भन्दा ठूलो आस गर्नु पनि बेकार छ ।
रवीन्द्र खड्काको कार्यकाल सकिनै लाग्दा उनको कार्यकालको विषयमा समीक्षा गर्न आवश्यक छ । किनकी, रवीन्द्रले कलाकार संघलाई कुनै संस्था भन्दा पनि फेसबुकमा स्टाटस लेख्न लायक संस्था बनाइदिएका छन् । ३ बर्षे कार्यकालमा रवीन्द्रले कलाकार संघको नाम लिएर व्यक्तिगत देखि संस्थागत बिचार फेसबुकमा कैयौं पटक पोखेका छन् । यतिसम्म कि, उनले कैयौं पटक आफूलाई कलाकार संघको अध्यक्ष रहेको समेत बिर्सिएर सेल्फी मोहमा डुबाएका छन् ।
खड्काको कार्यकालमा कलाकार संघले त्यस्तो सम्झनलायक काम केही पनि गरेको छैन । राजनीतिक पावरको आधारमा सरकारबाट कलाकार संघका लागि जग्गा प्रदान गरेको कुरालाई रवीन्द्रले ठूलो उपलब्धि मानेका छन् । तर, सरकारले दिएको जग्गा कलाकार संघका लागि कति पायक छ त्यो सबैलाई थाहा भएकै कुरा हो ।
कलाकार संघसँग कलाकारहरू नै नजिक छैनन् । यसले, कलाकार संघ कलाकारहरूको बायोडाटा बनाउने र कार्ड वितरण गर्ने संस्था बाहेक अरू केही पनि हुन सकेको छैन ।
अबको नेतृत्व सम्हाल्दै गर्दा रेजिना उप्रेति वा मोहन निरौलाले यो विषयमा सजग हुन आवश्यक छ । किनकी, चुनावको बेलामा सक्रिय हुने र अरू बेलामा फिल्म क्षेत्रमा भूमिकाविहीन जस्तै बनेको कलाकार संघलाई बलियो बनाउन आवश्यक छ ।
फिल्म क्षेत्रका अधिकांश समस्यामा निर्माता संघ र चलचित्र संघ मात्र हाबी भइरहेको समयमा कलाकार संघलाई पनि अर्थपूर्ण बनाउन आवश्यक छ । यो विषयमा भावी नेतृत्वले विचार गर्न जरुरी छ । होइन भने, रवीन्द्र जस्तै फेसबुक स्टाटसको मोहमा बधाई, जन्मदिनको शुभकामनामै कलाकार संघ रमायो भने त्यसले कुनै अर्थ राख्ने छैन ।
यो पनि
प्रतिक्रिया