भारतीय कलाकार सतीश कौशिकको निधन


निर्देशक तथा कलाकार सतीश कौशिकको निधन भएको छ । उनको बिहिबार बिहान साढे १ बजे अस्पतालमा निधन भएको भारतीय  मिडियाले उल्लेख गरेका छन् । उनको निधन हृदयघातका कारण भएको हो । दिल्लीको एक पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका सतीशको राती स्वास्थ्य अवस्था बिग्रिएको थियो । 

अस्पताल पुर्याए लगतै उनलाई डाक्टरले मृत घोषित गरेका थिए । उनको शवलाई दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । ६६ सालको उमेरमा बलिउडका चर्चित कलाकार सतीशको निधन भएको हो । पोस्टमार्टमपछि उनको शव परिवारलाई हस्तान्तरण गरिने बताइएको छ । यसपछि, अन्तिम सँस्कारका लागि उनको शवलाई मुम्बई लैजाने कार्यक्रम छ । 

उनको आज दिउँसो ३ बजेदेखि ६ बजेको बीचमा शमशान भूमिमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । सतीशको जन्म सन् १९५६ को अप्रिल १३ मा हरियाणामा भएको थियो । सतीशले सन् १९८३ मा बलिउडमा पाइला राखेका थिए । 

सतीशलाई दर्शकले सन् १९९७ मा निर्माण भएको फिल्म ‘इन्डिया’बाट चिनेका थिए । उनलाई ‘राम लखन र साजन चले ससुराल’बाट ‘उत्कृष्ट फिल्म फेयर’को अवार्ड समेत मिलेको थियो । 
सतिशको निधनमा बलिउड कर्मी र भारतीय नेताहरूले दुःख व्यक्त गरेका छन् ।