‘पठान’ले बलिउडलाई फर्कायो कि साहरुखलाई ?

सन् २०२२ बलिउड नगरीका लागि निकै कमजोर रहन पुग्यो । नाम चलेका स्टारहरुको फिल्मले बक्स अफिसमा नराम्रोसँग घाटा व्यहोर्नु पर्यो । जसकाकारण, बलिउड नै सकिएको हो कि भन्ने टिप्पणी समेत भएको थियो । 

बलिउड फिल्मले दर्शकको साथ नपाउँदा साउथका फिल्मले भने ५ सय करोडको व्यापार हिन्दी भाषामा गरे । अल्लु अर्जुन, रामचरण, जुनिएटर एनटीआर, यश लगायतका साउथका स्टारहरु बलिउडमाथि हाबी भैरहेका थिए । यसैले, अब बलिउडलाई साउथ फिल्म नगरीले कमजोर बनाउँछ भन्ने टिप्पणी भैरहेको थियो । 

तर, यो बर्षको जनवरी २५ बाट रिलिज भएको नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ले पूर्व टिप्पणीहरुलाई खारेज गरिदियो । यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्यो । फिल्मले भारतमा मात्र हिन्दी भाषामा ५ सय करोडको आँकडा पार गरेको छ । यसअघि रिलिज भएका कुनै पनि बलिउड फिल्मले ४ सय करोडको आँकडा पनि पुरा गर्न सकेका थिएनन् । 

यो फिल्मले बक्स अफिसमा सुनामी ल्याएपछि बलिउड आफ्नै लयमा फर्किएको टिप्पणी भैरहेको छ । बलिउडलाई साहरुखले फेरि पुरानै लयमा फर्काएको चर्चा परिचर्चा भैरहँदा नायक कार्तिक आर्यनको फिल्म ‘शहजादा’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । 

यो फिल्मले लाइभ टाइम कलेक्शन ५० करोड पनि नगर्ने पक्का जस्तै छ । यस्तो अवस्थामा फेरि एकपटक प्रश्न उठेको छ, नायक साहरुख खानले ‘पठान’बाट आफूलाई मात्र कमब्याक गराए या बलिउडलाई पनि गराए ? 

बलिउडले नै कमब्याक गर्नका लागि साहरुख मात्र होइन, अरु नायकका फिल्म पनि चल्न आवश्यक छ ।