कार्तिकको ‘शहजादा’लाई खराब प्रतिक्रिया, कमजोर ओपनिङ


अल्लु अर्जुनको साउथ फिल्मको रिमेकको रुपमा तयार भएको बलिउड नायक कार्तिक आर्यनको नयाँ फिल्म ‘शहजादा’ आजबाट विश्वभर रिलिज भएको छ । यो फिल्म भारतमा ३ हजार पर्दामा रिलिज भएको छ । नेपालमा पनि यो फिल्मले राम्रो शोज पाएको छ । 

तर, फिल्मले समीक्षक र दर्शकबाट भने गतिलो प्रतिक्रिया पाएको छैन । अल्लु अर्जुनको जस्तो अभिनय कार्तिकमा नभएको भन्दै भारतीय समीक्षकहरुले यसलाई कमजोर फिल्म भनेका छन् । 

यो फिल्मको बुकिङ पनि भारतमा निक्कै कमजोर रहन पुग्यो । फिल्मले आज शुक्रबार भारतमा ६ देखि ८ करोडको ओपनिङ कलेक्शन गर्ने अनुमान गरिएको छ । 

फिल्ममा कार्तिक आर्यन, कृति सेनन र पारेश रावल लगायतका कलाकारको अभिनय छ । गतबर्ष फिल्म ‘भूल भूलैयाँ २’ जस्तो ब्लकबस्टर फिल्म दिएका कार्तिकलाई यो बर्षको सुरुवातमै झट्का लाग्ने देखिएको छ । 

नेपालमा पनि यो फिल्मको व्यापार सुखद देखिएको छैन । कमजोर बुकिङसँग रिलिज भएको फिल्मले नेपाली दर्शकलाई खासै आकर्षित गर्न सकिरहेको छैन ।