केकी देखि उपासनासहित ९ नायिका‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित

काठमाडौं- बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् । नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी सिंहदेखि शर्मीला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी छन् । यस्तै, पछिल्लो पुस्ताका नायिकाहरु सुरक्षा पन्त, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरी छन् । चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नायिकाहरुलाई माला र सम्मानपत्रले सम्मानित गरेका थिए । सम्मानित हुने ९ जना नायिकाहरुले अभिनय गरेका एक–एक वटा चलचित्रका गीतमा अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।