कमेडी च्याम्पियन बनेपछि भरतमणिले के भने ?

काठमाडौं- स्ट्याण्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ को उपाधि पाएका भरतमणि पौडेलले दर्शकहरुलाई धन्यवाद दिएका छन् । पौडेलले यस्तो महामारीको समयमा पनि आफ्नो हँसाउने प्रयासमा दर्शकले साथ दिएकै कारण आफू विजयी बनेको प्रतिक्रिया दिएका हुन् ।

‘यो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा तपाईंहरुले मेरो हँसाउने प्रयासमा साथ दिनुभयो, मेरो लागि देश तथा विदेशमा रहेर अभियान चलाइदिनुभयो, मलाइ सधैँ अगाडि बढ्न प्रेरित गरिरहनु भयो,’ ‘अब मलाइ सहि बाटोमा हिँड्नका लागि खबरदारी गर्ने जिम्मा पनि तपाइँहरुकै हुनेछ, किनकी कमेडी च्याम्पियन सिजन २ को उपाधी पनि तपाइँहरुकै साथले सम्भव भएको हो ।’ उपाधि जितेपछि सामाजिक सञ्जाल मार्फत् पौडेलले दर्शकलाई भगवान भन्दै आगामी दिनमा पनि माया र साथको अपेक्षा राखेका छन् ।

दर्शकबाट आगामी दिनमा पनि यत्तिकै माया र साथ पाउने अपेक्षा उनले गरेका छन् ।‘आगामी दिनमा पनि यत्तिकै माया र साथ पाउनेछु भन्ने कुरामा म ढुक्क छु,’ उनले अगाडि लेखेका छन्, ‘मलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईं सम्पूर्णलाई अनगिन्ती धन्यवाद। यो मेरो मात्रै जित होइन तपाइँहरुको पनि जित हो । त्यसैले तपाईंहरु सम्पूर्णलाई बधाई भन्न चाहान्छु।’

कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ को शनिबार भएको फाइनलमा दार्जिलिङका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै पौडेल विजयी भएका थिए ।