फिल्मले कुन सर्टिफिकेट पाएको थाहा हुँदैन र हल संचालकज्यू ?

कुनै पनि फिल्मलाई चलचित्र जाँचपास समितिले दिने सर्टिफिकेट महत्वपूर्ण हुन्छ । फिल्मलाई सेन्सरले दिने सर्टिफिकेटका आधारमा दर्शकले पनि फिल्म हेर्ने निर्णय लिन्छन् । ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मलाई १६ वर्ष तलका दर्शकले हलमा गएर हेर्न पाउँदैनन् । यसैले, हलले आफ्नो वेबसाइटमा राख्ने फिल्मको पोस्टर र सेन्सरको प्रमाणपत्रले पनि दर्शकले टिकट काट्ने निर्णय लिन्छन् । तर, नेपालका हलहरुले यो कुरामा हेलचक्राई गरिदिन्छन् ।

बुधबारदेखि रिलिज हुन लागेका तीन फिल्म ‘लाज शरणम्, मायाबी र फेरि रेशम फिलिली’ले सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट पाएका छन् । तर, देशका नाम चलेका मल्टिप्लेक्समा यी फिल्मलाई ‘पिजी सर्टिफिकेट’ पाएको भन्दै प्रचार गरिएको छ । हलले आफ्नो वेबसाइटमा राखेको पोस्टरमा कही ‘पिजी त कही यूनिभर्सल’ राखिएको छ । 

देशकै ठूलो चेन मानिएको क्यूएफएक्सको वेबसाइटमा ‘मायाबी र फेरि रेशम फिलिली’ले ‘पिजी सर्टिफिकेट पाएको उल्लेख छ । यस्तै, बीग मुभिजले तीनै फिल्मलाई ‘पिजी सर्टिफिकेट’ भन्दै वेबसाइटमा राखेको छ । यसले दर्शक झुक्किने संभावना उच्च हुन्छ । 

यो हलले गरेको हेलचक्राई हो या वितरकले वेवास्ता गरेका हुन् ?