पारस र सिम्रन भन्छन्–‘फिल्मको नशा लाग्दैछ’

फागुनको २३ गते नजिकिदै जाँदा कलाकारद्वय पारस बम ठकुरी र सिम्रन पन्तको निन्द्रा पनि हराएको छ । ‘कुल ब्याई’को नाम परिचित पारस टिकटकबाट उदाएका हुन् । तर, पहिलो फिल्मबाट नै पाएको सुखद प्रतिक्रियाले उनी उत्साहित छन् । 

यता, कलाकार सिम्रन पन्तले साइन गरेको फिल्म ‘राज महल’ बनेन । भारतमा बसेर पढिरहेकी सिम्रन यही फिल्मका लागि नेपाल आइन् । तर, फिल्म नबनेपछि उनी के गर्ने दोधारमा थिइन् । उनलाई फिल्मको नशा लागिसकेको थियो । फिल्म ‘होस्टेल ३’बाट आएको प्रस्तावलाई उनले खेरा जान दिइनन् । अहिले दर्शकबाट पाएको प्रक्रियाले उनको खुशीको सीमा नै छैन । 

फिल्मको छायांकन सुरु भएको दिनबाट गन्ने हो भने ९ महिनादेखि निरन्तर रुपमा पारस र सिम्रन यसमै लागिरहेका छन् । तर, रिलिजको दिन नजिकिदै जाँदा उनीहरुको ढुकढुकीको बेग बढिरहेको छ । 

अहिले दर्शकहरुले पारसलाई निकै प्रेम देखाइरहेका छन् । यो फिल्मबाट उनीहरूमा आशा पनि निकै छ । तर, पारस भन्छन्–‘अहिले विश्वभर हाम्रो फिल्मको ट्रेलर ट्रेन्डिङमा छ । दर्शकले यति धेरै प्रेम मलाई र मेरो टिमलाई दिनुभएको छ । तर, भोलिका दिनमा फिल्म राम्रो भएन भने गाली खाने पनि मैले हो । यसैले, मनको ढुकढुकी बढेको छ । तर, दर्शकलाई फिल्म मनपर्छ भन्नेमा ढुक्क छु ।’

धनगढीमा रहेर टिकटक बनाउँदै आएका पारस अहिले फिल्मको पर्दामा हिरो बनिसकेका छन् । उनलाई कहिलेकाही यो सपना जस्तो पनि लाग्छ । 
यता, सिम्रन फिल्मको टिमले आफूहरूलाई छोराछोरीको जस्तै माया गरेको भन्दै खुशी छिन् । यो फिल्म अघिल्ला दुई सिरिज भन्दा फरक रहेको उनको दाबी छ । यसपटक ट्रेलरमा मित्रता, कलेज लाइफ, होस्टेलको जीवन मात्र नभएर प्रहरी, हतकडी, गोली हानेको दृश्य पनि छ । यसैले, कथा भित्र अझै केही लुकेको उनको भनाई छ । 

यी दुई कलाकारले बल्ल ठूलो पर्दामा काम गरेका छन् । तर, यी दुईलाई फिल्मको नशा भने लागिसकेको छ । अब, यो क्षेत्र छाडेर कतै नजाने सिम्रन र पारसले बताए । 

सशान कँडेलको निर्देशनमा माधव शर्माको कथामा बनेको यो फिल्मको ट्रेलरले विश्व बजारमा राम्रो प्रतिक्रिया पाएको छ । दर्शक फिल्मलाई लिएर उत्साहित छन् । ‘होस्टेल’ आफैंमा स्टार जन्माउने सिरिज हो । यसपटक, नेपाली फिल्मले पारस र सिम्रनलाई आशातीत कलाकारको रुपमा पाउँला किन नपाउँला ? यसका लागि फागुन २३ नै कुर्नुपर्ने हुन्छ ।