‘फेरि रेशम फिलिली’लाई लिएर सुपुष्पामा डर र उत्साह

नायिका सुपुष्पा भट्ट फिल्म ‘फेरि रेशम फिलिली’बाट केही वर्षको अन्तरालपछि फिल्म क्षेत्रमा फर्किदैछिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनकै होम प्रोडक्सनमा बनेको हो । फिल्मको बारेमा कुरा गर्दै सुपुष्पाले ‘फिङ्गर क्रस’को भाव प्रकट गरिन् ।

‘फिलिली गर्ल’ बन्दै गर्दाको अनुभव सुनाउँदै सुपुष्पाले भनिन्–‘सबैभन्दा माथि पुगे जस्तो भयो । एकदमै खुशी लागेको थियो । प्रोडक्सन हाउस राम्रो, निर्देशक पनि मिहिनेती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले खुशी थिएँ । राम्रो फिल्ममा काम गर्न पाउँदा को खुशी हुँदैन र ?’

निर्देशक निरोज महर्जनले सुपुष्पालाई फिट हुने गरेर नै कथा लेखेका थिए । त्यसैले पनि उनले अरु नायिका खोज्ने कष्ट नै गरेनन् । उनले चरित्र कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए सुपुष्पा ठ्याक्कै फिट भइन् । 

सुपुष्पाले पहिलो भाग र दोस्रो भागका पात्रको तुलना गर्न नमिल्ने बताइन् । दुवै पात्र एक–अर्कासँगै विल्कुलै फरक रहेको उनको भनाई छ । उनले भनिन्–‘मैले निर्वाह गरेको भूमिका बोल्ड छ । जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई मैं हुँ पनि भन्छ । यो चरित्रका लागि मैले निकै मिहिनेत पनि गरेको छु । तर, अझै मिहिनेत गर्न सक्थेँ कि जस्तो पनि लागेको छ ।’

फिल्ममा काम गर्दा सुपुष्पाले परिदृश्य र स्क्रिप्ट दुवै राम्रो होस् भन्ने सोचेकी हुन्छिन् । यो फिल्ममा ठ्याक्कै उनले सोचे जस्तै भयो । यो पात्र चुनौतीपूर्ण रहेको उनको भनाई छ । यसैले, दर्शकले फिल्ममा आफ्नो भूमिकालाई कसरी लिनुहुन्छ भन्ने डर पनि उनको मनमा छ । 

फिल्मको कथा जसरी लेखिएको थियो त्यसरी नै पर्दामा उतारिएको सुपुष्पाको भनाई छ । फागुन १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले सुपुष्पाको करिअर कुन बाटोमा जान्छ भन्ने तय गर्नेछ । यसैले, आफ्नै होम प्रोडक्सनको फिल्म भएपनि सुपुष्पामा डर र उत्साह दुबै छ ।