तुलसी घिमिरेले फेरि सुरु गरे ‘पहाड’को छायांकन

फिल्म ‘पहाड’को रोकिएको छायांकन सुरु भएको छ । गत माघ २२ गते शुभसाइत गरेर छायांकन सुरु भएपनि निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि नै छायांकन रोकिएको थियो । अब, स्वास्थ्य ठिक भएपछि फागुनको ९ गतेबाट तुलसीले छायांकन सुरु गरेका हुन् । 

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको यो फिल्मले समाजको तीतो यथार्थलाई दर्शकमाझ ल्याउने निर्देशक घिमिरेको भनाई छ । 

फिल्मबारे तुलसीले भने–‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । फिल्मको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्माणपक्षले बताएको छ । 

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन् । 

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत नायिकाको रुपमा भित्राएका छन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रियटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले वितरण गर्नेछ ।