‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’लाई डेब्यू निर्देशक निरोज महर्जनले निर्देशन गरेका हुन् । उसो त निरोजले फिल्म ‘रेशम फिलिली’मा पनि आफूलाई जोडेका थिए । सो समयमा उनले ‘रेशम फिलिली’को कहिले सहयोगी निर्देशकको रुपमा काम गरे त कहिले संवाद लेखे ।

निरोज भन्छन्–‘सबै कुरा जुर्दै गयो । हामी फिल्म गर्ने भनेर हिँडिरहेका थियौं । मलाई पनि फिल्म गर्नु थियो । फेरि यो एक चलिसकेको नाम थियो । डेब्यूका लागि यो भन्दा अर्को अवसर हुँदैन भन्ने लाग्यो । यो फिल्मको पूर्ण कथा मेरो हो । मलाई भन्न मन लागेको कथा थियो ।’

निरोज फिल्मको सिक्वेलको विशेषता भनेको पहिलो जस्तो दोस्रो नहुने र दोस्रो जस्तो तेस्रो नहुने बताउँछन् । उनले ‘फेरि रेशम फिलिली’ दर्शकका लागि धोका नहुने बताए । यो फिल्ममा दर्शकले भरपूर मनोरञ्जन पाउने निरोजको तर्क छ ।

उनले भने–‘फिल्ममा रेशम र हरिया मुख्य दुई पात्र छन् । जहाँ हरियाले रेशमलाई आफ्नो वचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले फिल्मको कथालाई कमेडीको उचाई लैजाँदै दर्शकलाई मनोरञ्जन दिइरहन्छ ।’ उनले, पहिले जस्तै यसपटक पनि फिल्म हेरेर दर्शक हाँस्ने विश्वास व्यक्त गरे । साथै, फिल्ममा सन्देश पनि भएको उनको तर्क छ । निरोज भन्छन्–‘पहिलो भन्दा यसलाई दर्शकले अझै राम्रोसँग स्विकार गर्नुहुन्छ । विषय र मुद्दामा यो फिल्म अगाडि छ ।’

उनले, यो फिल्मलाई फर्मुला भन्दा पनि अर्गानिक फिल्म भन्न रुचाए । निरोजले फिल्मबारे भने–‘यो पहिलेको कथाको निरन्तरता भन्दा पनि रेशम र हरिया पात्रको मित्रताको नोस्टालजियामा भनिएको फरक परिवेशको कथा हो । रेशम र हरियाको मित्रताको नोस्टाल्जियाको यो फिल्मले बोक्छ । यसका अलवा फिल्मको पूर्णतया नयाँ बिषय र कथा प्रस्तुत गर्छ ।’

पहिलो फिल्ममा स्ल्यापेस्टिक अप्रोजमा रहेको र यसपटक ड्रामामा केन्द्रित रहेको उनको भनाई छ । कमेडीसँग विषयका हिसाबले यो अझै बलियो बनेको उनको भनाई छ । 

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मबाट आफू निर्देशकको रुपमा चिनिनेमा निरोज ढुक्क छन् ।