कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

फिल्म ‘भूठान’को टिजर सार्वजनिक भएको छ । ‘भूठान’ शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराइसकेको वा परिवर्तन भइसकेको स्थान भन्ने बुझाउँछ । यो फिल्ममा कलाकार हरिवंश आचार्यको भिन्न गेटअप हेर्न सकिन्छ ।

अमेरिका लगिएका भुटानी आप्रावासीको भूमिकामा हरिवंश देखिएका छन् । उनको भूमिका केही गम्भीर छ । फिल्ममा आफ्नो देश फर्किन खोजेको तर नपाएको मानसिक रोगीको भूमिकामा उनलाई प्रस्तुत गरिएको छ । 

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा नेपाली कलाकारहरूको साथमा हलिउडका अभिनेता ब्रुस डर्नलाई देख्न सकिन्छ । यो फिल्ममा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय छ । हलिउडको साग अफ्ट्रा अन्तर्गत रहेर बनेको यो फिल्ममा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । 

यो फिल्ममा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बास्कोटाको लगानी छ । विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा जोयस पाण्डे, प्रदीप शर्मा, राजु पौडेल, रविन पोखरेल र नवराज पराजुली सह–निर्माताको रुपमा छन् ।

फिल्ममा सुशन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, सम्बरन प्रेथु राइको संगीत छ । यो फिल्मले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देश प्रेमको कथा भन्छ । यो फिल्मलाई आउँदो वर्षको वैशाख १२ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।