होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

भारतको बैंग्लोरमा एक जना दर्शकले भारतीय ठूला सिनेमा चेनहरु पीभीआर–आइनक्सलाई जरिवाना तिराएका छन् । 

फिल्म ‘सामबहादुर’ हेर्न गएका उनले हलमा २५ मिनेट विज्ञापन देखाएर आफ्नो समय खेरा फालेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतले हललाई १ लाख २० हजार भारू जरिवाना तिराएको छ । न्यायाधीश एम शोभा, अनिता शिवकुमार र सुमा अनिलको संयुक्त इजलासले हल विरुद्धको आदेशमा समयको सम्मान गर्न आदेश दिएको छ । 

अदालतले फैसलामा भनेको छ–‘नयाँ युगमा समयलाई पैसा मानिन्छ । प्रत्येकको समय धेरै मूल्यवान छ । कसैलाई अर्काको समय र पैसाबाट फाइदा उठाउने अधिकार छैन । हलले जे देखाउँछ त्यसलाई २५–३० मिनेट बसेर हेर्दा समय बर्बाद हुन्छ । अनावश्यक विज्ञापन हेर्न मानिसलाई कठिन पनि हुन्छ, बरु उनीहरुले परिवारसँग समय बिताउन सक्छन् ।’ 

अदालतको यो फैसलाले लामो समय विज्ञापन देखाएर हलमा दर्शकको समय वर्वाद गर्ने हलहरु सचेत हुनुपर्ने अवस्था आएको छ । उसो त, नेपालमा पनि यो विषयमा बारम्बार आवाज नउठेको होइन । नेपालका हलमा पनि आधा घण्टासम्म विज्ञापन देखाएर दर्शक वाक्क बनाउने शैली छ । 

यसैले, नेपालका हलहरु पनि यो बिषयमा सचेत र गम्भीर हुनुपर्ने अवस्था आएको छ ।