अत्याधिक ‘हिंसात्मक दृश्य’ भएको भन्दै ‘ताण्डवम्’को सेन्सर पास भएन

जुनिम गहतराजको निर्देशनमा तयार भएको फिल्म ‘ताण्डवम्’ सेन्सरमा अड्किएको छ । जाँचपास समितिले फिल्म भित्र अत्याधिक हिंसात्मक दृश्य भएको पास गर्न नमानेको हो । मंगलबार सेन्सरका लागि यसको टिम पुगेको थियो । फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक गहतराजले जानकारी दिए । 

उनले भने–‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि फिल्मको जुन मर्म छ त्यो मर्छ ।’ दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ । 

यो फिल्म फागुन ९ अर्थात् शुक्रबारदेखि रिलिजमा आउँदैछ । सेन्सरमा फिल्म रोकिएपछि बूकिङ खुल्ला पनि भएको छैन । 

फिल्ममा जुनिमको साथमा सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ । यो बदलाको कथामा बनेको फिल्म हो ।