‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमको मुद्दामा सुनुवाइ गर्दै पाटन उच्च अदालतले फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो । 

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने पहिरन, गेटअप, जिउडाल, कपाल मिलाउने शैली, हाउभाउ र लबज अनुमतीविना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले, चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश दिँदै अदालतले सामाजिक संजाल र मिडियाबाट कुनै पनि प्रचार सामाग्री सार्वजनिक नगर्नु भन्दै अन्तरिम आदेश दिएको हो । 

जेपीटी क्रियशनले निर्माण गरेको यो फिल्मको आज ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, अदालतको अन्तरिम आदेशपछि ट्रेलर सार्वजनिक गर्ने योजना प्रभावित बनेको छ । 

फिल्मको पोस्टर, गीत र केही प्रचार सामाग्री भने सार्वजनिक भइसकेको छ । कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’ले आलमको गेटअपमा अभिनय गरेका छन् । सीतारामको यही गेटअपलाई पोस्टर, गीत र टिजरमा निर्माणपक्षले उच्च स्थान दिँदै प्रचार गरिरहेको थियो ।