दीपक लेख्छन्–‘गालीले मान्छे मर्ने भए उहिल्यै मेरो दाहासंस्कार भैसक्थ्यो’

हाँस्य कलाकार दीपकराज गिरीले गालीले मान्छे मर्ने भएको भए आफ्नो उहिल्यै दाहसंस्कार भइसक्ने उल्लेख गरेका छन् । सामाजिक संजालमा आज लामो स्टाटस कोर्दै उनले सामाजिक संजालमा गाली गर्नेलाई कडा कारबाही गर्ने कुरा उठिरहेको समयमा आफ्नो भनाई राखेका हुन् । उनले, सरकारले ल्याउन लागेको ‘सामाजिक संजाल विधेयक’को विषयमा आफ्नो व्यङ्ग्यात्मक भनाई सार्वजनिक गरेका हुन् । 

दीपकले लेखेका छन्–‘आजकल जताततै दिकदारी नै दिकदारी छ । तनाव नै तनाव छ । अनि गाली नगरेर के गर्छ त ? घर गयो फेसबुक हेर्यो, सबैको प्रगति भएको देखिन्छ । आफ्नो हेर्यो भद्रगोल, अनि अलिकति टुच्च लगाएर मान्छेहरूलाई गाली गर्दा उसको मनमा केही हलुका र आनन्दित महशुश गर्छ भने त्यो गाली कसरी खराब भयो ? त्यसमाथि आजकल त समूह बनाएर नै अरूलाई गाली गर्ने र त्यस बापत पैसा लिने चलन छ । राजनीति क्षेत्र होस् या व्यापारिक क्षेत्र, एक समूहले अर्को समूहसँग लड्ने भनेकै आजकल संजाल युद्ध हो । जसमा एकले अर्को सिध्याउन पैसा खर्च गरेर गाली नै गर्न लगाइन्छ । यसबाट के भयो, गाली गर्ने पनि चर्चित भयो र गाली खाने पनि चर्चित भयो ।’

दीपकले यसो गर्दा युवाहरूले रोजगारी पाएको भन्दै कसरी गाली गर्नु खराब भयो भन्दै व्यङ्ग्य गरेका छन् । उनले, गाली धेरै खाँदा पनि सहन सक्ने क्षमताको विकास हुने र बुद्धत्व प्राप्त हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘गाली खाने व्यक्ति विस्तारै मुक्तिको मार्गमा हिँडेको एक आध्यात्मिक पथिक भै भविष्यमा सिद्धि प्राप्त गर्ने संभावना रहेछ । यो त झन् राम्रो कुरा भयो । गालीले मान्छे मर्ने होइन क्यारे । यदि, त्यसो हुँदो हो त मेरो पनि उहिल्यै दाहसंस्कार भइसक्थ्यो । त्यसैले सक्दो गाली गरौ र विकारमुक्त होऔं । टन्नै गाली खाऔं र वुद्दत्व प्राप्त गरौं ।’