धुलिखेलमा आउटडोर स्टुडियो बन्ने

आउटडोर स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबिच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीबिच सम्झौता भएको हो । सो अवसरमा पूर्व सञ्चार मन्त्री गोकुल बासकोटा, नगर उपप्रमुख नीराजन जङ्गम, बोर्ड सदस्य केएल बुढाथोकी र चलचित्र कलाकार सङ्घका पूर्व अध्यक्ष रवीन्द्र खड्का उपस्थित थिए ।

अध्यक्ष डिसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे । नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ ।

यस अघि पनि विभिन्न स्थानमा फिल्म स्टुडियो बन्ने घोषणा पूर्व बोर्ड अध्यक्षहरूले गर्दै आएका थिए  ।