‘ताण्डवम्’मा घैंटे बनेका अंकित, काम गर्न किन भएको थियो गाह्रो ?

शुक्रबार अर्थात् फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ताण्डवम्’लाई लिएर यो फिल्मका कलाकार अंकित खड्का उत्साहित छन् ।

जुनिम गहतराजको निर्देशनमा बनेको यो फिल्ममा उनको भूमिका कस्तो हो भन्ने खुलेको छैन । अंकित यो फिल्म सबैलाई मनपर्ने बताउँछन् । यो फिल्मको कथावस्तु र क्यारेक्टर आफूलाई मन परेकाले काम गर्न राजी भएको अंकितको भनाई छ ।

उनले भने–‘फिल्ममा मैले घैटेको क्यारेक्टरमा काम गर्दैछु । यो सबैलाई मनपर्ने फिल्म हो । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ? उसको व्यवहार कस्तो हुन्छ ? उसले कस्ता कुराहरू बोकेर हिँड्छ ? उसलाई आमा जस्तो देखिनेहरूसँग किन समस्या छ ? यो सबै कुरा फिल्मले बोल्छ ।’

यो फिल्मको क्यारेक्टर निर्वाह गर्दा आफूलाई निकै गाह्रो भएको अंकितले तर्क गरे । यो फिल्मको छायांकनका क्रममा आफ्नी आमाको निधन भएको र फिल्ममा आमालाई नै गाली गर्नुपर्ने क्यारेक्टर भएकाले गाह्रो भएको उनको भनाई छ ।

अंकित भन्छन्–‘मलाई धेरै नै गाह्रो भयो । फिल्म सुटिङको समयमा नै मेरी आमा बित्नुभयो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएँ । तर, मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो, यसमा मलाई असहज भयो ।’ 

फिल्मको टिम नयाँ भएपनि दर्शकले सम्झने खालको फिल्म बनेको अंकित बताउँछन् । फिल्मले एक्सन, थ्रिलर, साथीको कथा र माया प्रेम सबै कुरा बोक्ने उनको भनाई छ । अंकितका अनुसार, ‘ताण्डवम्’ लोकल ठाउँको लोकल र मध्यम वर्गीय परिवारको कथा हो ।’