सलोनको आक्रोश–‘मलाई पछाडि किन धकेलियो, क्यूएफएक्सले शो किन दिदैन ?’

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘रंगी’ले दर्शकको राम्रो साथ पाइरहँदा पनि हलले शोजमा हेपेको भन्दै निर्माता तथा नायक सलोन बस्नेतले आक्रोश व्यक्त गरेका छन् । उनको आक्रोश सबैभन्दा बढी क्यूएफएक्स चेनमाथि छ । उसो त क्यूएफएक्स चेनमाथि यस अगाडि पनि थुप्रै निर्माताहरूले आक्रोश पोखिसकेका छन् । बारम्बार क्यूएफएक्समाथि नै निर्मातालाई पेलेको र शोज नदिएको आक्रोश किन पोखिन्छ भन्ने प्रश्न पनि उठेको छ । 

सलोनले नेपालभर यती ठूलो चेन भएको क्यूएफएक्सले आफूलाई पेल्न खोजेको र पछाडि धकेल्न खोजेको आरोप लगाए ।

उनले भने–‘दर्शकले मलाई साथ दिनुभएको छ । तर, शोजमा हामीलाई हेपिएको छ । एकदमै कम शोजबाट लड्दा लड्दै मैले केही शोज पाएको छु । मैले पनि टन्नै पैसा भएर फिल्म बनाएको होइन नी । म ५ बर्षको उमेरदेखि यो क्षेत्रमा काम गर्न थालेको हुँ । चलचित्र विकास बोर्डमा गएर कलेक्शन हेरौं, रंगीको कलेक्शन राम्रो छैन भनेर भन्नुहुन्छ भने म फिल्म हटाउन तयार छु । तर, क्यूएफएक्समा मात्र शोज किन पाउँदैन ? एउटा हटाइएको सिनेमाले भोलिका शो पाउँछ, उत्रिसकेको फिल्मले शो पाउँछ । तर, म यत्रो वर्षदेखि यही क्षेत्रमा छु । मैले जानेको नै यही छ भनेर मैले काम गर्दा मलाई साथ दिनुपर्नेमा किन पछाडि धकेल्न खोज्नुभएको हो ?

सलोनले अगाडि भने–‘हामीले हरेक पटक फिल्म बनाएर शो नै पाउँदैन भने युट्युबमा रिलिज गर्नका लागि फिल्म बनाए भइहाल्यो नी । मलाई त ठाउँ नै दिनु हुँदैन । युट्युबका लागि फिल्म बनाउने भए किन हल चाहियो र ?’

सलोनले ललितपुरको लाबिम मलमा आफूलाई शोज नै नदिइएको गुनासो गरे । सलोनको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका हुन् । 

सलोनका पिता शोभित बस्नेतले आफ्नो वितरक चम्चे परेको आरोप लगाएका छन् । वितरकले आफ्नो स्वार्थका लागि फिल्म जुधाउने तर पछि शोज मिलाउन नसक्ने उदाहरण नेपाली फिल्ममा प्रशस्त देखिन्छ । यसपटक, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले ‘रंगी’को शोजका लागि सही कदम चाल्न नसकेको देखिन्छ । 

केही वर्षपछि फेरि नेपाल भित्र्याएर रि रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ले मज्जाले शोज पाइरहँदा हलमा लागेको नयाँ नेपाली फिल्मले शोज नै नपाउने अवस्था चलिरहेको छ । क्यूएफएक्स चेन, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपाली फिल्मप्रति यस्तो हेपाहा प्रवृत्ति किन राखेका होलान् ?