४ महिनामा सकियो ‘बलिदान’को छायांकन

फिल्म ‘बलिदान’को छायांकन चार महिना लगाएर पुरा गरिएको छ । कठिन परिस्थितीसँग जुध्दै फिल्मको काम उत्कृष्ट तबरले सकिएको निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबार मोरङको हसिना सिमसारस्थित बूढासुब्बा मैदानमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो ।

अन्तिम दृश्यमा फिल्मका मुख्य नायक समिर भट्ट र नायिका ऋचा शर्माले अभिनय गरे । यो फिल्मलाई ‘महान् फिल्म’ बनाउनका लागि कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षले बताएको छ । 

निर्देशक सेनले भने–‘कथाको सिर्जना होस् या कलाकार, प्राविधिक, र प्रविधिको छनोटमा सोचे भन्दा राम्रो गर्न सफल भयौं । शारीरिक, मानसिक र भावनात्मक रुपमा धेरै संघर्ष गर्यौं, तर फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।’ यो फिल्म देशका लागि केही गर्ने जोश र हुटहुटीले बनेको निर्देशक सेनको भनाई छ । फिल्मको अब पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । 

फिल्मको प्रदर्शन कहिले हुन्छ पक्का गरिएको छैन । टिजर सार्वजनिक गर्दा नै फिल्मको प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ । फिल्ममा सौगात मल्ल, अर्पण थापा, दिव्य देव लगायतका कलाकारहरुको पनि अभिनय छ ।

यो फिल्मले नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षको कथा भन्नेछ । फिल्ममा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा रहेको करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए ।

फिल्मको क्लाइमेक्सको दृश्यहरु छायांकनका लागि बूढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मुर्ति समेत निर्माण गरिएको छ । गायक सुजन चापागाँई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले यो फिल्मको गीत, संगीत तथा व्याकग्राउन्ड म्युजिकमा काम गरिरहेको छ ।

आसुसेन फिल्मस् प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी छ । प्रेम पुरी फिल्मका सह–निर्माता हुन् ।