प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज

बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । 
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो । 

हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरूको अभिनय छ । 

प्रिमियरमा फिल्मको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकलाई यो फिल्मले हलसम्म तान्ने अधिकांशको भनाई थियो । 

फिल्मले ‘इडी’ रोग लागेका व्यक्तिहरूको कथालाई प्रस्तुत गर्छ । फिल्म हेर्नका लागि निर्देशक नविन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजग, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत हल पुगेका थिए । 



फिल्मले उठान गरेको विषयवस्तु भन्न सकेकोमा अधिकांशले निर्देशक लामालाई बधाई दिए । 

फिल्मको ट्रेलर र टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको फिल्म भनेर बुझेका थिए । तर, फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरूको अभिनयको तारिफ गरे । यो फिल्म सबै दर्शकले हेर्नुपर्ने तर्क उनीहरुको थियो । 

प्रेम दिवसको अवसर पारेर आजबाट रिलिजमा आएको फिल्मले प्रेमको भाषालाई कविताको माध्यमबाट गज्जबले प्रस्तुत गरेको छ । साथै, समाजमा पुरुषहरूले लुकाएर राखेको आफ्नो यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार संभव रहेको तर्क पनि फिल्मले प्रस्तुत गर्छ ।