‘वसन्त’को ‘मिलनको कविता’

चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वसन्त’को ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक टिजर कवितामा प्रेमभाव पोखिएको छ । 

जहाँ, फिल्मका मुख्य नायक प्रकाश सपुत र नायिका स्वस्तिमा खड्कालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ । फिल्मको टिमले यो टिजरलाई भ्यालेन्टाइन डे स्पेश कविता भनेको छ । 

यो फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्गबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मका निर्देशक सपुतको जन्मथलो बाग्लुङका साथै काठमाडौं र तराइका विभिन्न स्थानमा यो फिल्म खिचिएको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्ममा प्रकाशकै कथा, पटकथा र संगीत छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्नका लागि गरेको संघर्षको कथा यो फिल्मले भनेको छ ।

मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता रहेको फिल्ममा अनुरोध भट्टराई, नाना थकाली, वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता छन् । सुशन प्रजापतिले यो फिल्मलाई खिचेका हुन् ।