अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

एक वर्षसम्म सङ्गीतमा ब्रेक लिएकी नेपाली रक स्टार अभया सुब्बा सङ्गीतमा फर्किएकी छन् । एक वर्ष सम्म यात्रा र अन्य काममा व्यस्त उनले अहिले भने नयाँ गीत सार्वजनिक गर्दै कम ब्याक गरेकी छन् ।

अभयाको ब्यान्ड ‘अभया एन्ड स्टिम इन्जिन्स' को नयाँ गीत ‘ सधैँभरि’ युट्युब, स्पोटीफाई र एप्पल म्युजिकमा एकसाथ रिलिज भएको छ । गीतमा कार्म, नीति शाहजस्ता चर्चित कलाकार फिचर्ड छन् । काठमाडौँभित्रका आकर्षक लोकेसनमा छायाङ्कन गरिएको गीतको अडियो जति मर्मस्पर्शी र आत्मपरक छ, उति नै यसको कोरियोग्राफी आकर्षक छ । गीतको कम्पोज अभया आफैले गरेकी हुन् । गिटारमा राजीव रिन्चेन पाल्जार, बासमा यज्ञ लामा, किजमा सन्देश डिसी, सेक्सोफोनमा जेम्स सिंह, सारङ्गीमा धर्म गन्धर्व छन् ।

अभया सुब्बाको सशक्त आवाज त भइहाल्यो, यसमा कार्म र नीतिको जोडीको उपस्थितिले भिडियोलाई आकर्षक देखाएको छ । ‘अभया एन्ड द स्टिम इन्जिन्स’ तिम्रो लागि, माझी दाइ, हावाहुरीजस्ता चर्चित गीतका लागि परिचित छ ।