गीत गाएरै घर किन्ने शान्ति श्री

युट्युबमा सर्वाधिक सुनिने सङ्गीतकर्मी हुन् शान्ति श्री परियार । पछिल्लो साता चर्चाको शिखरमा रहेकी शान्तिका दुई गीतले  इतिहास रचे ।उनको स्वर रहेको ‘रुकुम मैकोट’ छोटो समयमै १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो भने अर्को गीत ‘अरेली काँडैले’ युटयुवमा १० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ।

रोल्पाको दुर्गम गाउँको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कला कर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् । उनले हालै गोङ्गबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनिन् । केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन् । यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन् । 

उनको गायन सफलता लोभलाग्दो छ । कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी साङ्गीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौँ आएकी थिइन् । राजधानीमा उनले दोहोरी साँझमा काम गर्दै गायन यात्रालाई अगाडि बढाइन् । २०७४ सालमा सार्वजनिक ‘बोल माया’ बोलको गीतपछि उनी सधैँ चर्चाको शिखरमा रहिन् ।