‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो लोकगीत

शान्ति श्री परियारको स्वर, नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीतमा तयार भएको लोकगीत ‘अरेली काँडैले’ले नयाँ रेकर्ड राखेको छ । १० करोड पटक हेरिने पहिलो लोकगीत बन्दै यसले रेकर्ड राखेको हो । 

१ बर्ष अगाडि सार्वजनिक यो गीतले युट्युबमा धमाका नै मच्चाएको हो । यो गीतसँगै ‘सालको पात टपरी हुने’ पनि १० करोड नजिक छ । तर, ६ वर्ष अगाडि सार्वजनिक यो गीतलाई उछिन्दै १ बर्ष अगाडि सार्वजनिक ‘अरेली काँडैले’ले नयाँ रेकर्ड बनाएको हो । 

यो गीतको भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीले नृत्य गरेका छन् । यो गीतमा ४ लाख १ हजार भन्दा बढी लाइक र १५ हजार भन्दा बढी प्रतिक्रिया युट्युबमा आएका छन् । साथै, यो गीत सामाजिक संजाल टिकटक, रिल्स, फेसबुक, इन्स्टाग्राममा पनि लोकप्रिय बन्यो । साथै, महोत्सवमा पनि यो गीतको माग उच्च छ ।