सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sulaxyanbhraati_18yoXV4ofv_nc7r7h2jcjttedubkpgkitfaeojjanytkji6vil7q7l3gjgdvqawbqayxeq8_IseoOpIeUD_h4jdvwcmuwx5a4jzx0h6bujqrfz6yo6lfotbzhlcaxukvzt4stqnvpelk8xt.jpg)
नेपाली फिल्म क्षेत्र ‘स्टन्डबाजी’मा रमाउने गर्छ । यहाँ, काम गर्ने धेरैलाई ‘मैँ राम्रो’ भन्ने ठूलो भ्रम छ ।
यही भ्रमलाई कहिलेकाही फिल्मीकर्मीहरु सार्वजनिक कार्यक्रममा पनि देखाउने गर्छन् । बुधवार आयोजना भएको फिल्म ‘ममी’को प्रिमियरमा यसका कलाकार सुलक्षण भारतीको यस्तै एउटा ‘स्टन्डबाजी’ भयो । उनको, बोल्ने रहरले उपस्थित अतिथिलाई नै फिल्मका लागि १० मिनेट भन्दा बढी पर्खनुपर्यो ।
स्टेजमा कार्यक्रम सञ्चालिकाले नायिका प्रियंका कार्की र डेब्यू निर्देशक समर निरौलालाई मात्र बोल्न दिए । समय अभावका कारण अरु फिल्मसँग जोडिएका सदस्यहरू बोलेनन् । अरूलाई त बोल्ने रहर थिएन, तर सुलक्षणलाई कहाँ चित्त वुझ्थ्यो र ।
बोल्न नपाएपछि छटपटिएर बाहिर निस्किएका सुलक्षणले अड्डी कस्दै फिल्म नै सुरु गर्न दिएनन् । फिल्म किन सुरु भएन भनेर उपस्थित अतिथीहरु कानेखुसी गर्दै थिए । सुलक्षण भने बाहिर बोल्न नपाएको भन्दै आफ्नै टिमसँग बार्गेनिङ गरिरहेका थिए ।
सुलक्षणका कारण फिल्मको प्रदर्शनमा नै ढिलाई हुने भएपछि टिमका सदस्यहरूले उनलाई बोल्न दिने निर्णय गरे । फेरि, फिल्म केही समयपछि सुरु हुने भन्दै उनलाई बोल्न दिइयो । खै, बोलेर सुलक्षणले के पाए कुन्नि ? तर, आफैले बोलाएका अतिथिलाई उनले आफ्नै ‘स्टडन्बाजी’का कारण केही समय यत्तिकै पर्खाइदिए ।
उसो त सुलक्षणका यस्ता हर्कत देखिएको पहिलो पटक होइन । यसअघि पनि फिल्म ‘बोक्सीको घर’मा आफूले क्रेडिट नपाएको भन्दै उनले नायिका केकी अधिकारमाथि आक्रोश पोखेका थिए । फिल्म निर्देशकको हुने भन्दै कुनै पनि ठाउँमा आफूलाई लिएर नहिँडेको भन्दै उनी निर्मात्री समेत रहेकी केकीमाथि खनिएका थिए ।
फिल्म ‘बाटो’मा कलाकारको रुपमा रहेर पनि उनले निर्देशकलाई हस्तक्षेप गरेको चर्चा थियो । फिल्म ‘ममी’को छायांकनका क्रममा पनि उनले हस्तक्षेप गरेको वुझिएको छ ।
सुलक्षण आखिर फिल्मको टिम, अतिथिलाई दुःख दिएर खुशी हुन्छन् कि के हो ? कि उनलाई आफ्ना श्रृजना भन्दा यस्तै कुरामा बढी विश्वास लाग्न थालेको हो ? कि उनी प्रचारका लागि गसिप नै चाहिन्छ भन्ने भ्रममा रमाइरहेका हुन् कुन्नि ? आफै आयोजक भएर बोल्न नपाएको भन्दै अतिथिलाई पर्खाउने कस्तो चाला हो सुलक्षणजी ?
प्रतिक्रिया