‘कमेडी दरबार’ छाड्ने तयारीमा विजय, फकाउँदै विक्की

कलाकार विजय बरालले ‘कमेडी दरबार’ छाड्न लागेको खबर चर्चामा छ । विजय आफूले पनि समय व्यवस्थापन गर्न गाह्रो भएकाले शो छाड्ने बताएका छन् । 

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पार्टीमा पनि विजयले यो शो छाड्न लागेको बताएका थिए । यो शोको आज ३ भागको छायांकन छ । यसपछि विजयले यो शो छाड्ने बताएका हुन् । 

विजयलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बन्न लागेको छ । पहिले पहिले सह–कलाकारको रुपमा उनलाई फिल्ममा अफर आउँथ्यो । जसकाकारण, समय मिलाउन उनलाई पनि सहज भएको थियो । तर, अब उनी मुख्य कलाकारको रुपमा देखिन थालेपछि उनलाई समय मिलाउन गाह्रो भएको हो । 

विजयले शो छाड्ने चर्चा चलेपछि यसका निर्देशक विक्की अग्रवाल भने उनलाई फकाउन तिर लागेका छन् । विक्कीले हालै एक कार्यक्रममा भने–‘उहाँले छाड्छु त भन्नु भएको छ । तर, हामीले पनि मिलेसम्म मिलाउनुहोस् भनेका छौं । हामी उहाँलाई फकाउँदै छौं ।’

फिल्म ‘जनै हराएको बाहुन’ साइन गरेपछि विजयलाई समय व्यवस्थापन गर्न गाह्रो परेको हो ।