प्रदीपको ‘एक्टर’ विरुद्ध अदालतमा मुद्दा, रिलिज रोक्का गर्न माग
माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टरः टेक १’ विरुद्ध अदालतमा मुद्दा परेको छ ।
माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हनन भएको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेका हुन् ।
दायर गरिएको मुद्दामा ‘एक्टरः टेक १’ले एउटै नाम राखेको भन्दै नाम परिवर्तन गर्न माग गरिएको छ । साथै, फिल्मको नाम परिवर्तन गरी ‘एक्टर’ नामको सम्पूर्ण अधिकार आफूलाई दिन पनि निर्माता थापाले माग गरेका छन् ।
यो विवादको किनारा नलागेसम्म ‘एक्टरः टेक १’को रिलिज रोक्का गर्न पनि माग गरिएको छ ।
दायर गरिएको मुद्दामा भनिएको छ–‘गैरकानुनी रुपमा प्रतिलिपि चोरी गरि निर्माण गरिएको फिल्म माघको १६ गतेमा प्रदर्शन नगर्नु नगराउनु तथा अन्य अर्को व्यवस्था नभएसम्मका लागि उक्त फिल्म कुनै पनि विधि, पद्धति तथा कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरीपाउँ ।’
निर्माता थापाले चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
राजन भुसालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टरः टेक १’ रिलिजको ४ दिन अगाडि मुद्दा दायर गरिएको हो । यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया