को हो फेरि यो ‘सेतो दुध सेतै चौलानी’को शब्द ?
महोत्सव होस् या लाइभ दोहोरीमा नै किन नहोस्, गायक–गायिकाले प्रयोग गर्ने शब्द लाजमर्दो नै बन्दै गएको छ । दोहोरीले त भाषाको संरक्षण गर्नुपर्ने हो । तर, अहिले सामाजिक संजालमा लोकप्रिय हुने लोभमा सर्जकहरु दोहोरो अर्थ लाग्ने र उच्छृङ्खल गीत सिर्जना गर्न तल्लिन छन् । जसकाकारण, लोकदोहोरीले मौलिकता पस्कन्छ भन्न सकिने अवस्था छैन ।
शनिबार सार्वजनिक भएको ‘सेतो दुध सेतै चौलानी’ बोलको गीतमा दोहोरो अर्थको भरपुर प्रयोग गरिएको छ । पुष्प खड्का र करिश्मा ढकालको नृत्य रहेको यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । रामजी पछिल्लो समयमा दोहोरो अर्थ लाग्ने गीतको भिडियो मनाउन माहिर मानिएका छन् ।
गीतमा शान्तिश्री परियार र साजन बोहराको स्वर छ । रमेश परियारले शब्द तथा संगीत कोरेका छन् । गीतको हरेक शब्दमा दोहोरो अर्थ लाग्छ । लोकप्रियताको लागि सर्जकहरुले हद पार गर्दै गरेको उदाहरण यो गीत पनि हो ।
गीतमा भनिएको छ–‘मागन मनैले खाको कुरा, तिम्रै हो मसँग भाको कुरा ।’ यस्तै अगाडि भनिएको छ–‘नुहाउने साबुन हुन पाएँ, त्यो अंग अंगमा छुन पाएँ’ ।
गीतकार यतिमा मात्र रोकिएका छैनन्, अगाडि लेख्छन्–‘ओठैको लिविष्टिक लतपत भयो, नसोच्या कुरा झन् हतपत भयो । सेतै दुध सेतै चौलानी, मायाले मागेको त्यही त हौलानी ।’
यो गीतको अडियो र भिडियो हेर्दा लोकगीत भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया