प्रेममा परेपछि आफैलाई बिर्सिएकी आना, ब्रेकअपछि बदलिइन्

नायिका आना शर्मा प्रेममा ब्रेकअपछि बदलिएकी छिन् । हाल सुशान्त केसीसँग प्रेममा रहेको चर्चा चलेपनि आनाले त्यो कुरा स्विकार गरिनन् । आनाले आफू र सुशान्तले केही गीतहरूमा सहकार्य गरेका कारण पनि प्रेमको चर्चा चलेको हुनसक्ने बताइन् । तर, सुशान्त र आफू राम्रो साथी भएको आनाको तर्क छ । उनले, भविष्यमा आफूहरुबिचको सम्बन्ध के हो भन्ने खुल्ने स्पष्ट पारिन् । 

तर, आना यसअघि सोनाम शेर्पाको प्रेममा थिइन् । सोनामको प्रेममा रहँदा आनाले फिल्म क्षेत्रलाई पनि सक्रिय रुपमा अगाडि बढाउन सकिनन् । आजको दिनमा आना कसैको प्रेममा परेपनि आफूलाई प्रेम गर्नुपर्ने तर्क गर्छिन् ।

आनाले भनिन्–‘प्रेममा भएपनि आफ्नो व्यक्तिगत जीवन हुनुपर्छ । प्रेममा रहने वित्तिकै अर्को मान्छे आफ्नो जिन्दगी हो भनेर सोच्नु हुन्न । आफूले आफूलाई प्रेम गर्न सक्यो भने मात्र अर्को व्यक्तिलाई माया र केयर गर्न सकिन्छ ।’

आनाले ब्रेकअप भएको बेलामा धेरै कुरा सिक्न पाएको बताइन् । भनिन्–‘प्रेम भनेको के हो, राम्रो मान्छे भनेको के हो ? सम्बन्धमा रहेपछि राम्रो र नराम्रो कुरा के हुन्छ ? सायद, ब्रेकअपपछि मैले सबै कुरा बुझेँ ।’

आनाले आज आफू बदलिएको तर्क गरिन् । तर, अब आफू फिल्ममा पूर्ण रुपमा फोकस भएको बताइन् । आनाको हातमा अहिले ३ वटा फिल्म छ । उनले अभिनय गरेको फिल्म ‘एक्टर’ बुधबारदेखि रिलिजमा आउँदैछ । यसपछि, उनले अन्य दुई वटा फिल्म पनि साइन गरिसकेकी छिन् ।