‘रानी महल’लाई अलपत्र पारेर ‘जनै हराएको बाहुन’मा लागेका हिमाल
कुनै फिल्मको २० प्रतिशत छायांकन सक्दा नै २ करोड सकियो र त्यो फिल्म बन्न सकेन भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर, केही बर्ष अगाडि पाँच तारेमा घोषणा भएर २० प्रतिशत छायांकन पनि गरिएको फिल्म ‘रानी महल’को अहिले अत्तोपत्तो छैन ।
प्रोजेक्टमा ठूलो रकम खर्च गरेर रन्थनिएका निर्माता कहाँ छन् त्यो पनि थाहा छैन । यो फिल्मबाट डेब्यू गरेकी नायिका निकिता चण्डक अहिले धमाधम फिल्ममा काम गरिरहेकी छिन् ।
अब, यो फिल्मलाई अलपत्र पारेर केही बर्ष चुपचाप रहेका निर्देशक हिमाल न्यौपाने नयाँ फिल्म ‘जनै हराएको बाहुन’ निर्देशन गर्न अगाडि आएका छन् ।
फिल्म ‘रानी महल’ अलपत्र परेपछि त्यसका निर्माताले हामीसँग कुराकानी गर्दै ठूलो गुनासो गरेका थिए । सोही फिल्मका निर्देशक नयाँ फिल्म बनाउन कस्सिएका छन् ।
उसो त ‘रानी महल’ नबनेपछि हिमालले पनि केही सिके होलान् । यसैले, नयाँ फिल्म बनाउन सक्छु भनेर उनी कस्सिएका हुनसक्छ ।
तर, यसपटक हिमालले ‘रानी महल’का निर्माताले भोगेको नियति नयाँ फिल्मका निर्मातालाई भने बीचमै अलपत्र नपारुन् । उसो त, उनले ‘जनै हराएको बाहुन’लाई आफ्नो पहिलो व्यवसायीक फिल्म भनेका छन् । ‘रानी महल’को नाम लिन उनलाई गाह्रो परेको छ । यो फिल्मलाई पनि उनले आफ्नो सपना पुरा गर्ने अवसर बताएका छन् । जबकी, ‘रानी महल’लाई पनि सोही कुरा बताएका थिए ।
आफ्नो सपना पुरा गर्ने चक्करमा निर्माताको बिजोग भने यसपटक हिमालले नबनाउन्, हाम्रो शुभकामना ।
प्रतिक्रिया