फिल्म डेब्यूबारे उषा खड्गी–‘अब सही समय आयो’

मिस नेपाल २००० उषा खड्गीलाई नेपाली फिल्मबाट अफर नआएको होइन । तर, उनले बालबच्चाका कारण फिल्ममा काम गरिनन् । तर, अब बाल बच्चा हुर्काएपछि उषाले फिल्ममा काम गर्न थालेकी छिन् । उषाले दुई वटा फिल्मको धमाधम छायांकन गरिरहेकी छिन् । 

उषाले फिल्म ‘नरसिंहाः अवतार’बाट डेब्यू गर्दैछिन् । साथै, उनले फिल्म ‘जेरीः अन टप’मा पनि काम गरिरहेकी छिन् । एकसाथ दुइवटा फिल्ममा काम गर्दा उषाको उत्साह छुट्टै छ । 

डेब्यू बारे उषा भन्छिन्–‘पहिले पनि फिल्मबाट अफर नआएको होइन । तर, पारिवारिक व्यस्तताका कारण काम गर्न पाइएनँ । अब, सही समय आयो भन्ने लाग्छ ।’

फिल्ममा काम गर्दाको उनको अनुभव पनि रमाइलो छ । फिल्मको सेटमा सुरुवाती एक दुई दिन केही गाह्रो भएपनि उषा अहिले सहज महशुश गरिरहेकी छिन् । उनी भन्छिन्–‘सुरुवातमा त मेरो सेड्यूल नै विग्रीएको थियो । तर, अहिले म सहज महशुश गरिरहेकी छु । नरसिंहाः अवतारमा निकै राम्रो काम भएको छ । राजेश हमाल दाइसँग पहिलो फिल्ममै काम गर्न पाएँ । जेरीः अन टपको टिम पनि राम्रो छ । जे होस्, फिल्ममा बल्ल काम गरेकाले पनि हुनसक्छ म निकै उत्साहित छु ।’

दुबै फिल्ममा आफू नायिकाको रुपमा नदेखिएपनि सह–कलाकारको रुपमा देखिन लागेको र निकै राम्रो भूमिका भएकाले चित्त बुझेको उषाको भनाई छ ।