दुबई र कतारमा गुन्जिँदै कन्दरा
नेपाली लोक पप ब्यान्ड कन्दरा यति बेला विश्व टुरमा निस्किएको छ। ब्यान्डले गत साता बेलायतको प्रसिद्ध ओटु एरिनामा ऐतिहासिक प्रस्तुति दियो। त्यसपछि ब्यान्डले जनवरी ११ मा युएईको दुबई र १२ मा अबुधाबीमा प्रस्तुति दिने तय थियो । तर, पूर्वनिर्धारित कन्सर्ट स्थगित भएको र कन्सर्टको नयाँ मिति समेत घोषणा गरिएको कन्दराले जनाएको छ।
अब ब्यान्ड नेपाली समुदायको बाक्लो बसोबास रहेको युएईको दुबईमा १८ जनवरीमा गुन्जिनेछ । त्यहाँको बरदुबईस्थित क्लब एसके सेभेनमा ब्यान्डले प्रस्तुति दिन लागेको हो । युबीओसी हस्पिटालिटीले कन्सर्ट आयोजना गरेको हो । युएईमा प्रस्तुति दिएको एक दिनअघि ब्यान्ड जनवरी १७ मा नेपाली श्रमिकको बसोबास रहेको कतारमा गुन्जिनेछ। कतार कन्सर्टको समेत सबै तयारी पुरा भएको छ।
अहिले कन्दरा ‘पहिला घरदेश अनि परदेश’ नारासहित विश्व भ्रमणमा छ । कतारपछि ब्यान्डले हङकङमा प्रस्तुति दिने तय छ । त्यसपछि मार्च-अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुन क्यानडा र जुलाई-अगस्टमा युरोप, अगस्ट-सेप्टेम्बरमा जापानमा प्रस्तुति दिने जनाइएको छ ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ३२ वर्षे साङ्गीतिक उत्सवका रूपमा सन् २०२५ भरि ब्यान्डले विश्व टुर गर्न लागेको हो ।
प्रतिक्रिया