दयाको लोभलाग्दो कमाई, तर कर तिर्छन् कि तिर्दैनन् होला ?
कुनै एक कलाकारले सिंगो फिल्म क्षेत्रलाई नै धान्न सक्छ भनेर बुझ्नु गलत हो । तर, केही कलाकारहरूका कारण फिल्म क्षेत्र चलायमान भने भएको हुन्छ । कुनै समय राजेश हमाल त अहिले दयाहाङ राई ।
अबको एक दशकपछि सायद दयाले भन्नेछन्–‘मैले बर्षमा दर्जन बढी फिल्ममा काम गर्दा प्राविधिकहरू व्यस्त भएँ । फिल्म क्षेत्रमा नयाँ नयाँ निर्माता भित्रिए ।’ अहिले राजेश हमालले यही भनिरहेका छन् ।
तर, दयाहाङ राइको कारण नेपाली फिल्म जगत र आगामी पुस्ताले पनि पक्कै केही नयाँ कुरा त पाएकै छ । अग्लो, गोरो, ह्यान्डसम वाला नायकको स्टेरियो टाइप भत्काउनुमा राइको ठूलै योगदान छ । एक बर्षभरी सफल भएका फिल्महरूको सूची बनाउने हो भने पनि दयाको सूची नै अगाडि छ ।
यो बर्ष पनि दया अभिनित ९ वटा फिल्म हलमा लाग्ने देखिएको छ । फिल्म ‘डिग्री माइलादेखि, मनसरा हुँदै गाउँ आएको बाटो र घर ज्वाइँ’ उनको यो बर्ष रिलिज भइसकेका छन् । तर, ६ महिनायता दयाका कुनै पनि फिल्म हलमा लागेका छैनन् । तर, पौषको २६ गते उनी अभिनित फिल्म ‘कार्साङ’ रिलिजमा आउँदैछ ।
यसपछि, फागुनको २ गते फिल्म ‘दुखी आत्मा’, फागुनको २९ गते ‘एन्जिला’, चैत्र १ गते ‘राजागंज’ र चैत्रको २९ गते ‘पिताम्बर’ उनको रिलिजमा आउन लागेका फिल्म हुन् ।
दयाको चर्चा, फिल्म चल्नदेखि नचल्ने सम्मको कुरा छाडेर उनको कमाइको कुरा गरौं । दयाको वर्षभरिकै कमाई कति होला ? यदि, उनले दश लाख मात्र लिएको भए पनि उनको सालभरीको कमाई १ करोड भन्दा माथि नै हुन्थ्यो । तर, उनले निर्मातासँगै एउटा फिल्मका लागि ३० देखि ३५ लाखसम्म माग्ने गरेका छन् ।
यो बर्ष उनले ९ वटा फिल्ममा काम गरे । औषतमा कुरा गर्दा पनि उनको कमाई यो बर्ष फिल्मबाट मात्र ३ करोड माथि देखिन्छ । तर, कतिपय फिल्ममा दयाले शेयरमा पनि काम गर्छन् । यसर्थ, फिल्म चलेको खण्डमा उनको आम्दानी अझै बढ्ने देखिन्छ ।
केही समय अगाडिसम्म अभिनय गरेर बाँच्न नसकिने सोच फिल्म क्षेत्रमा आउनेहरूमा थियो । तर, अहिले एकजना नायकले नै बर्षमा ४ करोड माथिको कमाई गर्न थालेका छन् । विज्ञापन, नाटक र ट्याक्सीको भाडाबाट दयाले गर्ने कमाई यहाँ जोडिएको छैन । यसले पनि दयाले बर्षमा कति कमाई गर्छन् भनेर अनुमान गर्न सकिन्छ ।
फिल्म, विज्ञापन, मण्डला नाटक घर, ट्याक्सीको भाडाबाट लोभलाग्दो कमाई गरिरहेका दयाले कर भने तिर्छन् कि तिर्दैनन् होला त ? कुनै दिन भेटमा पक्कै पनि यो प्रश्न उनलाई हामी सोध्नेछौँ ।
प्रतिक्रिया