भूतहरुलाई साथी बनाउँछु जस्तो लाग्छ, तर मानिसहरुसँग डर लाग्छः प्रियंका कार्की

नायिका प्रियंका कार्कीले आफूलाई भूतसँग डर नलाग्ने बताएकी छिन् । फिल्म ‘ममी’को गीत रिलिज कार्यक्रममा बोल्दै उनले भनिन्–‘मलाई भूतसँग डर लाग्दैन । बरु, मानिसहरूसँग डर लाग्छ । भूतहरूसँग त बसेर गफ गरेर साथी बनाउँछु जस्तो लाग्छ । तर, वास्तविक मानिसहरूको सोच हिजोआज थाहा हुँदैन ।’

हरर फिल्ममा काम गरिरहेकी प्रियंकाले नेपालमा स्क्रिप्टमा मात्र फिल्म राम्रो बन्ने गरेको तर्क गरिन् । उनले भनिन्–‘मैले धेरै हरर फिल्महरूमा काम गरेकी छु । तर, माला बाहेक अन्य फिल्म हेरेर म आफैंलाई डर लागेन । नेपालमा हरेक फिल्मको स्क्रिप्ट राम्रो हुन्छ । तर, छायांकनमा गएपछि फिल्म बिग्रन्छ । विशेषगरि, हरर फिल्मको भीएफएक्स र साउण्डमा निकै ठूलो समस्या छ ।’

प्रियंकाले फिल्मको छायांकन सुरु भएपछि संझौता धेरै हुने गरेको बताइन् । तपाई कस्तो ममी भन्ने प्रश्नमा प्रियंकाले भनिन्–‘मैले छोरी जन्मिएपछि मैले ममीको महत्व बुझेकी छु । यसैले, सकेसम्म काममा व्यस्त भएपनि छोरीलाई समय दिनुपर्छ भन्ने सोच्छु । अहिलेका बच्चाहरू चाँडै नै ठूला हुन्छन् । यसैले, सकेसम्म समय दिएर घुमाउन लगिरहेकी हुन्छु ।’