‘बलिदान’का लागि ४२ फिट अग्लो कालीको मुर्ति तयार

फिल्म ‘बलिदान’ निर्माणको क्रममा नै चर्चामा छ । फिल्मका लागि निर्देशक सन्तोष सेनले गरिरहेको मिहिनेत र यसको मेकिङका कारण चर्चामा आएको हो । अब, फिल्मका लागि ४२ फिट अग्लो कालिको मुर्ति स्थापना गरिएको छ । यसले, फिल्मप्रतिको अपेक्षा दर्शकमा अझै बढाएको छ । 

फिल्मका निर्देशक सेनले भने–‘फिल्मका लागि हामीलाई अद्धितिय र विशाल काली माताको मुर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहना अनुसारको मुर्ति पाएनौँ । अन्ततः हामी भारतको कलकत्ता पुग्यौं ।’ यो मुर्तिलाई मोरङको हसिना सिमरा स्थित बूढासुब्बा मैदानमा राखिएको छ ।

फिल्मको छायांकन लगभग पुरा भएको सेनको भनाई छ । फिल्मको टिजर चाँडै नै सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ। 

यो फिल्ममा पवन व्राडफोर्ड बिष्ट निर्माताको रुपमा छन् भने प्रेम पुरी सह–निर्माता हुन् । यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । 
फिल्मको बजेट ९ करोड रहेको बताइएको छ ।