एक्टरको गीत ‘के भरोसा गरम’ मा बोल्न नसक्ने व्यक्ति बनेका प्रदीप

माघ १६ गते रिलिज हुने फिल्म ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक प्रदीप खड्कालाई दुई नायिका आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको भए पनि टिजरमा भने  प्रदीप र राजबल्लभ कोइरालाका दृश्यहरूले यस फिल्मको कथा अर्कै रहेको सङ्केत गरेको थियो ।

सार्वजनिक गीतका कारण प्रदीप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न समेत उब्जाएको छ । प्रदीप आनासँगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकामा देखिएका छन् । गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत गीतमा रहेको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।

फिल्म निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । फिल्ममा प्रदीप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।

सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।