गुन्जिदै प्रमोद एन्ड परम्परा

गायक प्रमोद खरेलको ब्यान्ड ‘परम्परा’ले वर्ष २०२४मा पुनर्जीवन पायो । साउदी अरबमा आयोजित ‘जेद्दा सिजन २०२४’ मा उनी ब्यान्डसहित गुन्जिएर ब्यान्डको उपस्थिति दर्शक माझ दर्साए । त्यसयता खरेलको साङ्गीतिक करिअरले नयाँ मोड लिएको छ । ‘सोलो’ गायकको रूपमा परिचित उनले ब्यान्डसँग साङ्गीतिक माहौल सिर्जना गर्न सुरु गरिसकेका छन् ।

२०२४ को उत्तरार्धमा भारतको आसाम र सिक्किमदेखि सुरु भएको प्रमोद र परम्पराको साङ्गीतिक माहौल जेद्दाको ‘कल्चरल ओडीसी’ हुँदै ‘प्रमोद र परम्परा’ काठमाडौँको पोताला र किङ्स लाउन्ज, भैरहवाको टाइगर टपमा पनि सुनिए ।

अब वर्ष २०२५मा प्रमोद र परम्पराले विभिन्न जिल्लामा आयोजित मेला पर्व र महोत्सवमा प्रस्तुति दिंदैछन् । १९ पुसमा डुम्रेको भानु नगर महोत्सव, २९ पुसमा कास्कीको लेखनाथ महोत्सव, ६ माघमा प्रमोदले ब्यान्डसहित कन्सर्ट गर्ने तय भएको छ । यही क्रममा लेखनाथ वा थलीमध्ये कुनै एक कन्सर्टबाट ब्यान्डसहित नयाँ गीत रिलिज हुने तयारी छ । 

सन् २०२५ प्रमोद खरेल एन्ड परम्परा ब्यान्डको लागि खास हुने पक्का छ । यस वर्ष ब्यान्डको सक्रियता हुने त छ नै, दर्शकले उनका नयाँ रचना पनि सुन्न, हेर्न पाउनेछन् ।