भाइरल बालबालिका–‘कोही सचिन बने त कोही अशोक दर्जी !

प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनमा शोक व्यक्त गर्दै लेखे–‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक संजालको भाइरल प्रवृत्तिले असर पुर्याएको घटनाले सामाजिक सम्बन्धका संवेदनशील बिषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’

प्रधानमन्त्रीको यो भनाइले पनि के प्रष्ट पार्दछ भने, पछिल्लो समय भाइरल बनाइने प्रवृत्तिले बालबालिकामा गम्भीर असर पुगेको छ । बालबालिकालाई काँचो माटो पनि भनिन्छ । उक्त भाडाबाट कस्तो माटो बनाउने भन्ने कुरा अभिभावक र नजिकका मानिसहरूमा भर पर्छ ।

बाल गायक सचिन ‘के छ हजुर’ भन्दै हिट भए । उनको यही शैलीलाई केही मानिस र परिवारका सदस्यले सही तरिकाले सदुपयोग गर्न सकेनन् । उनी भाइरल त भए, तर उनलाई फक्राउने कसरी भन्ने बिषयमा कोही पनि गम्भीर बनेनन् । जसकाकारण, सचिनले १३ बर्षको  उमेरमै यो संसार छाड्नुपर्यो । सिभिर निमोनियाँले पल्मोनरी ह्याम्रेज भएका उनी पाँच दिन यता त्रिवि शिक्षण अस्पतालको आइसीयुमा उपचाररत थिए । उनका पिता तेजेन्द्रले सामाजिक संजालको माध्यमबाट उपचारका लागि सहयोग नमागेका पनि होइनन् । तर, सचिनलाई रोगले छाडेन । 

सचिन भाइरल बनेपछि धेरैका लागि उनी कन्टेन्ट बने । परिवारका लागि पैसा कमाउने श्रोत । तर, उनको बाल मस्तिष्कले के सोचिरहेको छ भन्ने कल्पना कसैले पनि गर्न सकेन । 

रोगले च्यापेपछि र चर्चा सेलाउँदै गएपछि उनै बालकमाथि भाइरल ग्याङले पनि वास्ता गर्न छाड्यो । सचिन परियारमाथिको केही युट्युबरको सिन्डिकेट अझै कहाली लाग्दो थियो । 

सचिन चर्चित दोहोरी कार्यक्रम इन्द्रेणीसम्म पनि पुगे । त्यहीबाट उनको गायन र अध्ययन सुनिश्चित बन्यो । सबै कुरा ठीकठाक चलिरहेको थियो । तर, उनका बाबुले सचिनलाई स्कुलबाट निकालेर आय आर्जनको लागि प्रयोग गर्न थाले । सामाजिक संजालमा उनी उन्मत्त साँडे जसरी गफ गर्न थाले । उक्त समय सचिन उनकै पिताका लागि पैसा कमाउने रुख बने । बाबु–आमाको न्यानो माया र हेरचाहमा हुर्किनुपर्ने सचिन परिवारबाटै पैसा कमाउने माध्यम बन्नु दुखको कुरा थियो । 

बारम्बार सचिनको नाममा पैसा माग्न थालेपछि उनका पितालाई पनि सहयोगी हातहरूले पत्याउन छाडे । अन्तिममा सचिन फेरि सडकमै पुगे । मागेर गुजारा गर्न थाले । केही समय अगाडि उनै बालक सचिनको एउटा वाक्य चर्चामा रह्यो । उनले भनेका थिए–‘अब उता नी राख्दिनँ भन्छिन् । अब यता नी हैन अब के अर्ने अर्ने ।’ उनै सचिन कलिलै उमेरमा अस्ताए । उनको प्रतिभा राम्रोसँग फक्रिन पनि पाएन । 

उसो त सामाजिक संजालमा भाइरल हुने सचिन पहिलो बालक थिएनन् । यसअघि झापाका अशोक दर्जी पनि सामाजिक संजालमा गीत गाएर भाइरल बने । उनलाई पनि सुरुवातमा कसले राख्ने भन्दै तानातान नै भयो । उनीमाथि सिन्डिकेट लगाउनका लागि धेरैले झगडा नै गरे । 

तर, सही अभिभावकत्व पाएका अशोक आज हर्लक्क बढेका छन् । पढाइदेखि गीत गायनमा उनी अब्बल छन् । यसको श्रेय गायक टंक वुढाथोकीलाई जान्छ । सुरुवाती खिचातानीमा टंक आलोचित बनेपछि अहिले उनी सबैको प्रशंसा पाउन सफल छन् । किनकी, उनले अशोकलाई सही तरिकाले हुर्काए । 

अर्का भाइरल भेलुबाजेको निधन पनि सुखद रहेन । उनको निधन पनि सचिनको जसरी नै भयो । भाइरल हुँदा सबैले प्रयोग गर्न खोज्ने अनी चर्चा सेलाएपछि साथ छोड्ने जमातको हातमा पर्दा धेरै भाइरलहरु हराएका छन् । सचिन जस्ता प्रतिभा कलिलै उमेरमा निमोठिएका छन् । 

भाइरल हुनु आफैमा गलत होइन । तर, भाइरल भनिएकाहरु माथिको अभिभावकत्व कसको हातमा छ भन्ने कुरा उनको जीवन र भविष्य निर्धारण गर्ने माध्यम हो । गायक शिव परियारले यसै लेखेका होइनन्–‘कोही पनि बाल–बालिकाको निधन सचिनको जस्तो नहोस् ।’

प्रतिभाहरुलाई प्रयोग होइन, सही अभिभावकत्व प्रदान गर्न आवश्यक छ । अलबिदा सचिन...