सचिनको निधनबारे शिव र अर्जुन भन्छन्–‘यस्तो नियती कुनै बाल–बालिकाले भोग्न नपरोस्’

बाल गायक सचिन परियारको आज निधन भयो । उनको १३ बर्षको उमेरमा निधन भएको हो । सचिनलाई सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गर्नेमा दर्शक, संगीतकर्मी र फिल्मीकर्मीहरु पनि छन् । 

सचिनलाई श्रद्धाञ्जली दिँदै संगीतकार तथा गीतकार अर्जुन पोखरेल लेख्छन्–‘यो सानो बाबु तर ठूलो प्रतिभा भएकाले भविष्य सुन्दर थियो नै । परिवारको रेखदेखमा भएको कमजोरीले हो या आफ्नै कारणले यो संसारबाट बिदा भए । बिदा भइसकेपछि यी बाबुलाई श्रद्धाञ्जली दिनेहरू धेरै छौं हामी । यो बाबुको अवस्था के थियो, विमार के थियो, अब सोधखोज हुँदैछ । तर, हामीले जिउँदो हुँदा आफ्नो तर्फबाट सहयोग के कति गर्यौँ ? हामी आफैले मनन गरौं । प्रतिभा फुलाउने बचाउने जिम्मा हाम्रो पनि हो र राज्यको पनि हो । आत्माको चिरशान्तीको कामना सचिन बाबु ।’

यस्तै, गायक शिव परियार लेख्छन्–‘फेरि पनि कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन, तिम्रो आत्माको स्वर्गमा बास होस् । यही प्रार्थना गर्दछु ।’

सचिनलाई नायिका ऋचा शर्मा, गायिका रीता थापा मगर लगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।