व्यवस्था परिवर्तन हुँदै जाँदा भिन्न फिल्म बन्न थाले - दयाहांग राई

अभिनेता दयाहांग राईले व्यवस्था परिवर्तन हुँदै जाँदा फिल्म फरक बन्न थालेको बताएका छन्  । पछिल्लो समय जनजाति विशेष का कथामा फिल्म बन्न थालेको बारे बोल्दै उनले परिवर्तित व्यवस्थाको उपज फरक फिल्म बन्ने गरेको बताएका छन् ।

कार्साङ फिल्म प्रमोसनका लागि दौडिरहेका उनले बताएका छन् ,"हिजो जुन अवस्थामा काम भइरहेको थियो। त्यो बेला नेपालको व्यवस्था, राजनीतिक रूपले सायद यो कुरालाई स्विकार्दैन थियो कि! पछिल्लो समय आएको मानिसको चेतनाले ‘ए हामीले पनि हाम्रो चिज भन्दाखेरि हुँदो रहेछ’भन्ने कुरा महसुस गर्न थालेपछि यस्ता फिल्महरू बन्न थालेका हुन्। व्यवस्था परिवर्तन नभइदिएको भए यो भन्न सकिँदैनथ्यो।"

याम शेर्पाले निर्देशन गरेको फिल्म ‘कार्साङ’ सिन्धुपाल्चोकको शेर्पा समुदायको कथा हो । फिल्ममा दया सँगै दिया मास्के, जितु नेपाल, सिर्जना निन्ग्लेखु लगायतको अभिनय छ। फिल्म यही पुष महिनाको २६ गतेबाट हलमा लाग्दै छ ।