‘लाज शरणम्’को गीतमा स्वर दिदै बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र्यापर पनि हुन् । उनका थुप्रै गीतहरू दर्शकमाझ लोकप्रिय छन् । उनले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत पनि गाएका छन् ।
उनै, बालेनले अब फिल्म ‘लाज शरणम्’को गीत गाउने भएका छन् । बालेन अर्जुन घिमिरेसँगको व्यक्तिगत सम्बन्धका कारण लामो समयपछि गीत गाउन तयार भएका हुन् ।
यो फिल्मको फस्टलुक बुधबार मात्र सार्वजनिक गरिएको थियो । अब, बालेनको नयाँ गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई आक्रामक बनाउने संकेत देखाएको छ ।
उसो त, यो फिल्ममा बालेनले काम गर्ने चर्चा समेत थियो । तर, बालेन फिल्ममा गीत मात्र गाउन तयार भएका हुन् । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
सामाजिक कथामा निर्माण भएको यो फिल्मका कलाकार अर्जुन घिमिरे बालेनको टिममा रहेर काम गरिरहेका छन् । उनकै आग्रहलाई नकार्न नसकेर बालेनले गीत गाउन लागेका हुन् ।
बालेनले ‘सबैलाई हतार छ, नेपाल हाँसेको, प्रहरी प्रतिकार, गोर्खाली तोप, मार्फाको मदिरा, मन यो उड्यो, लोकल ठिटो’ लगायतका र्याप गीतमा स्वर दिइसकेका छन् ।
प्रतिक्रिया