रोहितको लाइनअपः ‘माइतीघरदेखि फर्की फर्की २’सम्म

निर्माता रोहित अधिकारीले ३ बर्षसम्मका लागि आफ्नो फिल्मको लाइनअप तयार भएको बताएका छन् । ३ बर्षपछि बन्ने फिल्मका लागि पनि अहिलेदेखि नै काम गर्दा राम्रो हुने भन्दै उनले तयारी अगाडि बढेको बताए । यो बर्ष फिल्म ‘फर्की फर्की’ सार्वजनिक गरेका रोहितले नयाँ फिल्म ‘माइतीघर’ बनाउँदैछन् । यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना उनको छ ।

एक पटकमा एउटा फिल्म रिलिज गरेर मात्र अर्को फिल्मको सुटिङ सुरु गर्नुपर्ने रहेछ भन्दै रोहितले विगतबाट पाठ सिकेर नै आफू अगाडि बढेको बताए । रोहितका अनुसार, निर्देशक सुयोग गुरुङको निर्देशन र विकास सुवेदीको लेखनमा नयाँ फिल्मको काम पनि अगाडि बढेको छ ।

फिल्म ‘माइतीघर’पछि यो फिल्म निर्माण हुने उनको भनाई छ । अमेरिकामा रहँदै आएका निर्देशक सुरेश दर्पण पोखरेल नयाँ फिल्म निर्देशनको तयारीमा छन् ।

रोहितले सुरेशसँग पनि फिल्म निर्माणमा सहकार्य गर्ने बताए । यो फिल्ममा दुर्गा बहादुर कार्कीको पनि सहकार्य रहनेछ । यस्तै, सन् २०२६ मा सुयोग गुरुङको निर्देशनमा फिल्म ‘फर्की फर्की २’ बनाउने घोषणा पनि रोहितको छ । दुई बर्षमा सके तीन वटा नभए हरेक बर्ष एउटा फिल्म रिलिज गर्ने योजना आफ्नो रहेको रोहितले सुनाएका छन् । 

रोहितले यसअघि ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ निर्माण गरिसकेका छन् ।