‘कार्साङ’मा आगोमा हिडेका दया, उत्साहित जितु

‘कार्साङ’का कलाकार तथा निर्देशकले यो फिल्म मन छुने बनेको प्रतिक्रिया दिएका छन् । यो फिल्म कुनै समुदाय र ठाउँ विशेषको कथा भएपनि सबैको मन जित्ने विश्वास कलाकारहरुको छ । 
यो फिल्ममा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले भने–‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नुपर्ने थियो । फिल्म हो चिटिङ भइहाल्छ भन्ने भ्रममा म थिएँ । तर, उहाँहरूले मन्त्र पढेर आगोको राप मारेको छ भन्नुभयो । निर्देशकले पनि खासै केही हुन्न भन्नुभयो । मलाई के गर्नु कसो नगर्नु भएको थियो । तर, पनि कोशिश गरेँ । आगोमा पसे र सफल पनि भएँ ।’

दयाले झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति यसमा पनि रहेको जिकिर गरे । 

पत्रकारसँग कुरा गर्दै निर्देशक यम शेर्पाले भने–‘यो फिल्मको कथा आफैँमा राम्रो छ । फिल्मले दर्शकको मन छुन्छ भन्नेमा विश्वास छ ।’

कलाकार जितु नेपालले फिल्मको बिषय, प्रस्तुति र अभिनयका हिसाबले राम्रो बनेको बताएका थिए । आफू विदेश जाँदा पनि धेरैले यो फिल्मको विषयवस्तुको बारेमा चासो राखेको उनले सुनाए । जितुले चरित्र कस्तो छ भन्नु भन्दा पनि काम कस्तो गरेको छ भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । 

फिल्मकी कलाकार सिर्जना निङलेखुले आफ्नो पहिलो फिल्म भएकाले पनि उत्साहित रहेको सुनाइन् । 

पुसको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले ग्रामीण परिवेशमा आधारित परिवारको कथा भन्छ । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको संकृतीलाई प्रस्तुत गर्ने निर्माणपक्षको भनाई छ ।