मेला महोत्सवमा गायक गायिकाको व्यस्तता
गायक बद्री पङ्गेनीले सोमबार पाल्पाको ‘पाल्पा महोत्सव २०८१’ प्रस्तुति दिए । उनले मङ्गलवार पनि कैलालीको ‘बदैगोरिया सेती लोक मार्ग पहिचान महोत्सवमा २०८१’मा प्रस्तुति दिएका छन् । गत पुस ९ गते प्युठानको प्रथम भित्री कोट महोत्सवमा प्रस्तुति दिएका बद्रीको त्यसयता पुस २३ गतेसम्म कार्यक्रमको ‘सेड्युल’ प्याक छ ।
गायिका ज्योति मगर पनि दैनिक जस्तो कार्यक्रममा देखिन्छिन् । आइतबार ‘धरान म्युजिक जात्रा २०८१’मा पुगेकी ज्योति मङ्गलवार चितवनको एक कार्यक्रममा देखिन। उनी गत १३ गते नवलपरासी, १२ गते मोरङ, ११ गते प्युठान, ६ गते झापा कार्यक्रममा सहभागी भएकी थिइन् ।
रचना रिमाल झापाली समाज युएईको आयोजनामा दुबईको एक कार्यक्रम सकेर सोमबार स्वदेश फर्किएकी छन् । दुबई उड्नु एक दिन अगाडि उनले मोरङको एक कार्यक्रममा प्रस्तुति दिएकी थिइन् । रचनाले अघिल्लो साता देश तथा विदेशको तालिका समेटेर १० कार्यक्रम सार्वजनिक गरेकी थिइन् । पुस ९ गते तेस्रो खैरहनी महोत्सवबाट सुरु भएको उनको व्यस्तता २० पुससम्मै कायम रहने देखिन्छ । त्यसपछि पनि उनको खासै फुर्सद भने छैन ।
गायक शिव परियारले पनि केही दिन अगाडि आफ्नो व्यस्तताको तालिका सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जसमा दार्जिलिङको शीतकालीन महोत्सव, क्रिसमस इभको अवसरमा दार्जिलिङको टिस्टा भ्यालीमा महोत्सव लगायतका कार्यक्रम थिए । यी कार्यक्रम सकेर उनले २ दिन अगाडि चितवनमा उनले साङ्गीतिक प्रस्तुति दिए । परियारले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा मङ्गलवार कोहलपुरमा प्रस्तुति दिएका छन् ।
गायिका समीक्षा अधिकारी यति बेला साङ्गीतिक कार्यक्रमको सिलसिलामा युरोपमा छिन् । सोही क्रममा बागलुङ समाज पोर्चुगलको आयोजनामा सोमबार पोर्चुगलमा कार्यक्रम गरेकी अधिकारीले युरोपमै रहँदा अन्य देशमा पनि प्रस्तुति दिएकी छन् । युरोप उड्नुअघि उनी बुटवल मेला, लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ लगायत कार्यक्रममा दैनिकजस्तो व्यस्त हुँदै आएकी थिइन् ।
अङ्ग्रेजी नयाँ वर्षको कार्यक्रमका लागि लोक गायिका भूमिका गिरी चीन उडेकी छन्। आइतबार चितवनको मेघौलीमा एक कार्यक्रम गरेकी उनले त्यसअघि रुपन्देहीको पार्क महोत्सव, धादिङको कालिका युवा समाजको कार्यक्रम, गुल्मीको शान्तिपुरमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।
‘म त ढलेँ ढलेँ’की गायिका शान्ति रानी परियारको व्यस्तता पनि यति बेला निकै बढेको छ । विभिन्न मेला–महोत्सव र कार्यक्रमले उनलाई पनि फुर्सद छैन । उनले मङ्गलवार नयाँ वर्षको अवसर पारेर सुर्खेतमा आयोजित कार्यक्रममा प्रस्तुति दिएकी छन् । यसअघि उनले पाल्पा महोत्सव, सुदूरपश्चिम शैक्षिक महोत्सव, गोरखाको गोरखकाली महोत्सव, खैरहनी महोत्सव लगायतमा प्रस्तुति दिएकी थिइन् ।
त्यस्तै एलिना चौहान, मिलन नेवार, रामकृष्ण ढकाल, अस्मिता अधिकारी, बिन्दु परियार, आस्था राउत, हेमन्त शर्मा, हिमाल सागर, युवराज चौलागाई लगायतका सबै कलाकार समेत अहिले व्यस्त छन् ।
त्यस्तै एलिना चौहान, मिलन नेवार, रामकृष्ण ढकाल, अस्मिता अधिकारी, बिन्दु परियार, आस्था राउत, हेमन्त शर्मा, हिमाल सागर, युवराज चौलागाई लगायतका सबै कलाकार समेत अहिले व्यस्त छन् ।
प्रतिक्रिया